शनिबार, वैशाख १५, २०८१
19:25 | ००:१०

नेपालमा हालसम्मकै बढी एक हजार २२१ कोरोना सङ्क्रमित थपिए

थप १४ को मृत्यु

रासस अगस्ट ३०, २०२०


काठमाडौं । काठमाडौँ उपत्यकासहित देशभर आइतबार हालसम्मकै बढी कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार २२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ३४८ महिला र ८७३ पुरुष छन् ।

यस्तै काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ४२९ कोरोनाका सङ्क्रमित भेटिएका छन् । तीमध्ये काठमाडौँमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ सङ्क्रमित देखिएको मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यसअघि सबैभन्दा बढी देशभर एकै दिन एक हजार १११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । काठमाडौँ उपत्यकामा पनि आजको कोरोना सङ्क्रमितको सङ्ख्या हालसम्मकै बढी हो ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज १२ हजार ७१७ जनामा पीसीआर परीक्षण भएकामा काठमाडौँसहित देशभर उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार हालसम्म छ लाख ८२ हजार ३४३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार ५१८ रहेको छ । संस्थागत आइसोलेसनमा १० हजार ६१२ जना रहेका छन् । होम आइसोलेसनमा रहेकाको सङ्ख्या छ हजार ९०० छ । आज देशभर सात हजार ७९७ जना क्वारेन्टिनमा छन् । पछिल्लो २४ घण्टामा थप २६७ कोरोना जितेर घर फर्किएका छन् । हालसम्म कोरोना जितेर घर फर्किनेको सङ्ख्या २० हजार ८२२ पुगेको छ ।

कोरोनाका कारण आज थप १४ जनाको मृत्यु भएको छ । त्यसमा चार महिला र १० पुरुष छन् । मृत्यु भएका चार महिलामध्ये सुनसरीका ७४ वर्षीया, बाराका ४७ वर्षीया, महोत्तरीका ६२ वर्षीया र काठमाडौँका ७२ वर्षीया छन् ।

त्यसैगरी मृत्युभएका पुरुषमध्ये सुनसरीका ६० वर्षीय, मोरङका ६२ वर्षीय, महोत्तरीका ७० वर्षीय र ३५ वर्षीय तथा रौतहटका ३० वर्षीय, ललितपुरका २९ वर्षीय, भक्तपुरका ६५ वर्षीय, नवलपरासीका ६२ वर्षीय तथा रुपन्देहीका ५७ वर्षीय र ६७ वर्षीय रहेका छन् । हालसम्म २२१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू