शुक्रबार, वैशाख १४, २०८१
12:52 | १७:३७

जापानमाथि विजयको ७५ औं वर्षगांठमा बाजेको सम्झना

विजय हितान अगस्ट १५, २०२०

मेरो बाजे जमदार पदमसिङ हितान मगर (एमसी) बुवा भक्तिराम हितान मगर र मुवा पवित्रा हितान मगरका जेष्ठ पुत्र हुनुहुन्थ्यो।  वहाँ विसं.  १९६७ चैत्र २० गते (सन्  १९११ मार्च ४) २/८ गोर्खा राइफल्सको लेन्सडाउन छावनी, गढवाल, भारतमा जन्मनु भएको थियो। वहाँ ५ वर्षको हुँदा बुवाले नेपाल लिएर आउनुभयो। श्री पदमसिङ हितान मगर वडा न. १, पौंदी-अमराइ, गुल्मीमा स्थायी बसोबास गर्नुहुन्थ्यो।  वहाँको  एउटा मात्रै भाई रण बहादुर हितान मगर हुनुहुन्थ्यो ।  

पदमसिङ १८ वर्षको उमेरमा सन् १९३० मार्च ६ मा आफ्नै बुवाको पल्टन २/८ गोर्खा राइफल्समा भर्ती भई भारतको आसाम जानुभएको थियो। त्यसपछि  वहाँ धेरै युद्धहरुमा सम्मिलित हुनुभयो।  सन् १९३७-१९३८मा पूर्व बङ्गालको चितगाउँ, अफगानिस्तानको पश्चिम उजरिस्थान र काबुलको युद्धहरुमा बहादुरीका साथ लड्नुभयो।

त्यसपछि दोस्रो विश्व युद्धमा इटली, जर्मनी, अफ्रिका हुँदै जापानिज सेनासँग लड्न बर्मा पुग्नुभयो । बर्माको फ्रन्टलाइनमा खटाइँदा वहाँ ४/८ गोर्खा राइफल्समा सरुवा हुनु भइसकेको थियो । ४/८ गोर्खा राइफलको बि र सी कम्पनी पछाडि हटदै गरेको जापानी फौजलाई बाटो छेकेर इरावदी नदिको पश्चिमी तटमा बसेको थियो। मेरो बाजे बी कम्पनीको एक प्लाटुन हबल्दार हुनुहुन्थ्यो । बाजेको प्लाटुनको एक सेक्सनमा लच्छुमन गुरुङ थिए । बाजेको प्लाटुन टङ्डो भन्ने ठाँउमा भाग्दै गरेको जापानी फौज आउने बाटो कुरेर बसिरहेको थियो । 

१३ मे १९४५ को बिहान १:२० बजे जपानी फौजले बाजेको प्लाटुन माथि आक्रमण गर्‍यो । आक्रमणको क्रममा एउटा ग्रिनेड लच्छुमनको ट्रेन्चमा बज्रियो । तर नपड्किदै उक्त ग्रिनेडलाई समातेर लच्छुमनले जपानी फौजतिर फालिदिए। दोस्रो ग्रिनेडलाई पनि त्यसैगरी उतैतिर फालिदिए। तेस्रो चाँही लच्छुमनको हातैमा पड्कियो र उनको दाहिने हात उड्यो । त्यही ग्रिनेडको चोइटाले मेरो बाजेको चिउडो र खुट्टामा  लाग्यो । त्यसपछि देब्रे हातले बन्दुक चलाएर लच्छुमनले दुश्मनलाई हताहत बनाएपछि  आक्रमण साम्य भयो ।

मेरो बाजेले पनि आफुलाई दुश्मनको गोली लागेको पर्वाह नगर्दै उक्त भिडन्तमा प्लाटुनलाई सहि मार्गदर्शन गरेर दुश्मनलाई  परास्त गर्न सफल हुनुभयो । पछि लच्छुमनको साहसिक कामलाई कदर गर्दै मेरो बाजेले उनलाई भिसीको लागि सिफारिस गर्नुभयो । फलस्वरुप १९ डिसेम्बर १९४५ सालमा नयाँ दिल्लीको एक भव्य समारोहमा लर्ड लुइस माउन्टबेटनको बाहुलीबाट लच्छुमन गुरुङलाई भिसी र मेरो बाजेलाई यमसी पदकले विभुषित गरियो। त्यसपछि लच्छुमन गुरुङलाई हबल्दार र मेरो बाजेलाई जमदार पदमा पदोन्नती दिएर घाइते  पेन्सन पठाइएको थियो ।

८ मे १९४५ का दिन ब्रिटेनले नाजी जर्मनीसँग सन्धि गरेर दोस्रो विश्वयुद्ध अन्त्य भएको घोषणा गरिएछ । यो दिन उता मेरो बाजे भने बर्मामा जापानी सैनिकविरुद्ध लड्दै हुनुहुन्थ्यो । अहिले सोच्छु, बाजेले युद्धविराम भएको खबर त्यो जंगलमा  सुन्नुभयो  कि सुन्नुभएन होला ।  सुनेका भए, अब त बाँचेर घर फिर्ता हुन पाउने भयो भनेर कति  रमाउनु भए होला है ! तर वास्तवमा यता युद्ध घोषणा गरेको तीन  महिनापछि (१५ अगष्ट  १९४५) मा मात्र जापानी पक्षसँग सम्झौता भएर उता बर्माको युद्ध स्थगित भएको थियो ।

बाजे सन्  १९४६ को १५ जनवरी (विसं. २००१) मा सेनाबाट अवकास लिएर आउनुभयो। वहाँको बफादारी र निस्वार्थ सेवालाई कदर गर्दै हरेक वर्ष पल्टनले भीसी दिवस मनाउन निमन्त्रणा पठाउने गर्थ्यो । त्यसैगरी भारत सरकारले २६ जनवरीमा  राजधानी दिल्लीमा  स्वतन्त्रता दिवस मनाउन निम्तो गर्ने  गर्दथ्यो। त्यसकारण वहाँ वर्षको दुई पटक पहाडघरबाट ३ दिनको पैदल बाटो हिंडदै पाल्पा, बुटवल, भैरहवा, नौतनवा, गोरखपुर भएर इन्डिया जानुहुन्थ्यो।

विसं. २०३७/३८ सालमा बाजेको साथी बनेर म पनि बाजेको पल्टन गएको छु । त्यतिबेला बाजेको ४/८ जि आर जम्मुकाश्मिरको श्रीनगर थियो । भिसी डे- १३ मे को दिन लक्षुमन गुरुङ भीसी लाई भेटेको छु । 

उक्त दिन बिहान दरबार हुन्छ ।  पल्टनका सबै जवान र अफिसर परेड स्क्वाएरमा भेला हुने गर्थे   । मेरो बाजेले दरबारको दिन बर्मामा ४/८ जि आर लाई कसरी भीसी प्राप्त भयो भन्ने विषयमा सम्बोधन गर्नुहुन्थ्यो । त्यसपछी सिइओ साहेब अनि अफिसरहरुको साथमा हातमा रक्सीको प्याला समातेर हरेक कम्पनी-कम्पनीले आयोजना गरेको बडाखानामा सरिक हुनुहुन्थ्यो । भिसी डे भन्दा अगाडिका दिनहरुमा विभिन्न खेल प्रतियोगिता हुन्थे । अनि भिसी डे का दिन प्रतियोगी हरुलाई सम्मान र पुरस्कार वितरण गरिन्थे ।सांझ  सांस्कृतिक  संगीतिक  र नाट्य कार्यक्रम हुन्थ्यो । १२/१३ मे को दिन जपनिजसँग बर्माको तान्डो भन्ने जङलमा लच्छुमन र पदमसिङ दुई बुढाहरु कसरी लडेका थिए भनेर नाटक हेरेको सम्झना मलाई अझै पनि खुबै आउंछ । त्यतिबेला मलाई गोर्खा पल्टन भित्रको सैनिक जीवन बुझ्ने मौका मिलेको थियो । यिनै दुई भ्रमणपछि मलाई शायद पल्टन घरमा जोडिने भित्री ईच्छा जागेर आएको हुनपर्छ ।

बाजेका २ श्रीमतीहरु थिए। जेठी श्रीमती हस्तिकुमारीसँग विसं. १९९६ सालमा विवाह  भएको थियो। उहाँबाट  ४ छोराहरु र १ छोरी गंगा, जय, पुर्ण, रमेश र तुलसी जन्मेका थिए । कान्छी श्रीमति गौरीसँग विसं. २००९ सालमा विवाह भएको थियो। उहाँबाट एक छोरी भिमीको जन्म भएको थियो। जेठी र कान्छी श्रीमतीको मृत्‍यु क्रमश विसं. २०१३ र २०१७ सालमा भयो ।  

बाजेले सैनिक सेवाबाट अवकास लिएपछि आफ्नो गाउँ अरेवामा प्रशस्तै सामाजिक कार्यहरु गर्नुभयो। गौचरन र वन-जंगल संरक्षणदेखि सरकारको भुमिसुधार योजना लागु गर्ने र गाँउ-पन्चायत र जिल्ला पन्चायतका अन्य क्रियाकलापहरुमा सक्रिय भूमिका निभाउनुभएको थियो। पौंदि-अमराइ गाउँ सुधार समितिमा रहँदा विसं.  २०१० सालमा तम्घासमा भारतीय  भूपू सैनिकहरुले पेन्सन बुझ्ने सोल्जरबोर्ड स्थापना गराउनमा वहाँको ठूलो हात थियो। त्यसैगरी अमराइको सर्वोदय मिडल स्कुल र धाराको जनज्योती प्राइमरी स्कुल स्थापनामा भूमिका निभाएका  उहांले  स्कुलको सन्चालन समितिमा सचिवको रुपमा पनि काम गर्नुभएको थियो। अनि भूपू सैनिक संगठनको सभापति र पञ्चायतको जिल्ला सभासद पनि हुनुहुन्थ्यो। वहाँका यिनै सामाजिक योगदानलाई कदर गर्दै राजा त्रिभुवनले त २००५ सालमा ‘झारा-खारा माफ’ भनेर लालमोहर बक्सेको थियो।

वहाँको पत्नीहरु अल्प आयुमै स्वर्गबास भएका, छोरा छोरीहरु सानै भएका, अनी आफ्नो लगाव बढी सामाजिक कार्यतिर मात्रै भएकोले वहाँको घरको अवस्था भने सन्तोषजनक थिएन। सैनिक पेन्सन भएतापनि  गरिव गुरुवालाई सहयोग पुरयाउने कमलो दिलका भएर होला, वहाँको घरको आर्थिक अवस्था नाजुक थियो। तर पनि  छोराछोरीले पढ्नुपर्छ भन्ने अवधारणाले गर्दा जेठा छोरालाई पल्टनमा लगेर पढाउनु भयो भने अरु ३ भाईलाई तमघासमा  हाइ स्कुलसम्म पढाउनुभएको थियो।

लाहुरे परिवार र एक मगरको छोरो भएर होला, बाजेको रक्सी सेवनको लत थियो । रक्सी पिएपछि  गीतहरु गाउने र उखान टुक्काहरु भनेर रमाइलो गर्नुहुन्थ्यो। ‘मगरका हुन्छन् कुरा पेटमा गर्छन् जेठमा’ भनेर मगर मगर्नीहरुको धेरै नबोल्ने बानीप्रति व्यंग्य  गर्नुहुन्थ्यो।

पल्टन जाने क्रममा विसं. २०४५ बैसाख ३१ गते (सन्  १९८८ मे १३) ७७ वर्षको  उमेरमा मिलन चोक, बुटवलमा माहिला छोरा जय बहादुरको घरमा वहाँ स्वर्गवास हुनुभएको थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू