शुक्रबार, चैत १६, २०८०
02:26 | ०८:११

कोरोनाका कारण विदेशमा मात्र १ सय ९१ नेपालीको निधन

५८ देशका ४६ हजार ३१२ जनाको उद्धार

नेपाली लिङ्क अगस्ट ९, २०२०
लन्डन । कोभिड १९ संक्रमणका कारण विदेशमा मात्र १ सय ९१ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार भारतमा यो साता थप २ जनाको कोरोनाका कारण निधन भएपछि विदेशमा मृत्यु हुने नेपालीको संख्या वृद्धि भएको हो  ।
शनिवार साँझसम्म नेपालसहित विश्वभर २ सय ६४ जना नेपाली कोरोना भाइरसबाट मरेको गैरआवासीय नेपाली संघले जनाएको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार यो साता भारत, अष्ट्रेलिया, बेल्जियम, पोल्याण्ड, फ्रान्स, कतार, साउदी अरेवियामा रहेका नेपालीमा थप नयाँ संक्रमण देखिएको छ ।
संघका अनुसार गत हप्ताको तुलनामा मध्यपूर्वका देशहरु कतार, युएई, साउदी अरब लगायत देशमा कोरोना संक्रमणको दरमा कमी आएको छ । यो साता अष्ट्रेलिया रहेका १४६ जना नेपालीमा नयाँ संक्रमण थपिएको समितिले जनाएको छ ।
समितिका अनुसार गत साता लग्जेम्वर्गमा रहेका नेपालीहरुमा सामूहिक रुपमा देखिएको कोरोना संक्रमितहरु संक्रमणमुक्त हुँदै गएका छन् । संघका अनुसार लग्जेम्वर्गमा करिब दुई दर्जन नेपालीमा कोरोना संक्रमण रहेको र बाँकी आइसोलेसनमा रहेका छन् । लग्जेम्वर्गमा थप संक्रमण देखिएको छैन् ।
विश्वमा ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएको संघले जनाएको छ । ती मध्य १६ देशमा रहेका नेपालीको कोरोनाका कारणले निधन भएको छ ।
कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेन, भारत, नेपाल, साउथअफ्रीका लगायतका देशमा रहेका नेपालीहरुको ज्यान गएको थियो । हालसम्म नेपालसहित ५५ हजार ९ सय २५ जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये ४७ हजार ४ सय ३७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
विदेशमा अलपत्र परेका ४६ हजार ३१२ जनाको उद्धार 
कोरोना भाइरसका कारण जारी लकडाउनका कारण विदेशमा अलपत्र नेपालीको गैरआवासीय नेपाली संघ, नेपाली राजदूतावास र कूटनीतिक नियोगबीचको सहकार्यमा ५८ देशबाट हालसम्म उनीहरुको उद्धार गरिएको हो ।   विदेशमा अलपत्र परेका ४६ हजार ३१२ जनाको उद्धार गरिएको छ ।
उद्धार गरिएकामध्ये सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्सबाट १२ हजार ५ सय १ जनाको उद्धार गरिएको छ । साउदी अरेबियाबाट ६ हजार ९ सय ९७, मलेसियाबाट ६ हजार ७९४, कुवेतबाट ६ हजार ३२९ र कतारबाट ५ हजार २५१ जनाको उद्धार भएको छ । अफगानिस्तानबाट ३३, ओमानबाट ६ सय ३६, म्यानमारबाट २६, थाइल्याण्डबाट ३ सय २६, दक्षिण कोरियाबाट ७ सय २०, बंगलादेशबाट ८ सय ४१, माल्दिभ्सबाट ७ सय ९,सिंगापुरबाट २ सय ९७, हङकङबाट ८९, पाकिस्तानबाट ७२, बहराइनबाट ९ सय ८०, अमेरिकाबाट ४ सय २३, बेलायतबाट २ सय २९, इजरायलबाट १ सय २७, चीनबाट २ सय आठ, टर्कीबाट १ सय १० जना स्वदेश फर्किएका छन् ।
फिलिपिन्सबाट २ सय १ जना, स्वीट्जरल्याण्डबाट १० जना, इराकबाट ३९ जना, दक्षिण सुडानबाट २ सय ५० जना, सेन्ट्रल अफ्रिकन रिपब्लिकबाट ६८ जना, श्रीलंकाबाट ५ जना जापानबाट १ हजार २३ जना स्वदेश फर्किएका छन् ।  भारतबाट हवाई उडान मार्फत ८५ जना स्वदेश फर्किएका छन् । तर, स्थलमार्ग हुँदै भारतबाट आएकाहरूको  तथ्यांक एकिन छैन ।
२४६ शव नेपाल ल्याइयो
विदेशमा विविध कारण मृत्यु भएका २४६ जनाको शव नेपाल ल्याई परिवारलाई बुझाइएको छ । १७२ जनाको गन्तव्य मुलुकमै अत्येष्टीका लागि सहमति प्राप्त भएको छ ।  विदेशमा मृत्यु भएका ४९४ जनाको मध्ये अझै ७६ जनाको शव नेपाल ल्याउन बाँकी छ ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू