शुक्रबार, वैशाख ७, २०८१
00:48 | ०५:३३

नेपालमा कोरोना संक्रमित घट्दै, आज ८२ जना मात्र

काठमाण्डौ उपत्यकामा ३४७ कोरोना सङ्क्रमित

रासस जुलाइ १२, २०२०

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८२ कोभिड–१९ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले विभिन्न २५ प्रयोगशालामा गरिएका तीन हजार ९१६ नमूना परीक्षणमा ८२ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिए । यससँगै कोरोना सङ्क्रमितको कूल सङ्ख्या १६ हजार ८०१ पुगेको छ ।
प्रदेशगतरुपमा आज कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये प्रदेश नं १ मा चार, प्रदेश नं २ मा २०, वाग्मती प्रदेशमा १४, गण्डकी प्रदेशमा १५, प्रदेश नं ५ मा दुई, कर्णाली प्रदेशमा २१ र सुदूरपश्चिम प्रदेशमा छ जना रहेका छन् ।
मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार देशभरका क्वारेन्टिनमा हाल २३ हजार ७८४ रहेका छन् । आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार १७४ रहेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या १४७ छ । योसँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या आठ हजार ५८९ रहेको छ । कूल कोरोना सङ्क्रमितमध्ये ५१ दशमलव एक प्रतिशत उपचारपछि घर फर्किएका मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३८ छ ।
हालसम्मको तथ्याङ्कअनुसार विश्वभर एक करोड २८ लाख ६३ हजार ७२४ कोरोना सङ्क्रमित भएका छन् । कोरोनाले पाँच लाख ६८ हजार ५२ को निधन भइसकेको छ ।
दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकमध्ये नेपाल पिसिआर परीक्षण गर्ने मुलुकमा अगाडि रहेको छ । भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान र अफगानिस्तानभन्दा अगाडि रहेको छ । पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले नेपालमा हालसम्मका कोरोना सङ्क्रमितमध्ये शुन्य दशमलव तीन प्रतिशतमा मात्र केही लक्षण देखिएको बताए ।
ती लक्ष्यणमध्ये ज्वरो आउने, खोकी लाग्ने मात्र छ, अन्य गम्भीर खाले बिरामी नभएको पाइएको उनी बताउंछन् । हालसम्म मृत्यु भएकामध्ये ०.२१ प्रतिशत पर्छ । यीमध्ये २४ जनामा दीर्घ रोगीको समस्या रहेको देखिएको छ । खासगरी ५० वर्षभन्दामाथि उमेरका व्यक्तिको निधन भएको पनि डा पाण्डेले बताए ।
उपत्यकामा ३४७ कोरोना सङ्क्रमित
बाहिर जिल्लामा सङ्क्रमित कम भएका र काठमाडौँ उपत्यकाका तीन जिल्लामा सङ्क्रमित बढेकाले चिन्तित तुल्याएको उनले बताए । यीमध्ये धेरैजसो विदेशबाट आएका र कतिपय व्यक्ति यात्रा नभएको पनि पाइएकाले उपत्यकाका १२ स्थानमा नमूना सङ्कलन गरी हालसम्म तीन हजार परीक्षण गर्दा जम्मा तीन जनामा सङ्क्रमण पुष्टि भएको देखिन्छ । यी तीन जनाको पनि ‘ट्राभल हिस्ट्री’ नदेखिएकाले समुदायमा सङ्क्रमण हुनसक्ने भएकाले व्यापकरुपमा समुदायमा परीक्षण गरिनुपर्ने अवस्था रहेको डा पाण्डेले बताए ।
निर्देशक पाण्डेले दोस्रो चरणमा यही असार २५ गतेदेखि ४५ हजार नमूना लिइएको र तीमध्ये पाँच हजार काठमाडौँबाट लिइने जानकारी दिए । मुख्यगरी सेवा क्षेत्र बैंक, मालपोत कार्यालय, कर कार्यालय, स्वास्थ्य केन्द्रलगायत स्थलबाट नमूना लिने योजना छ । सङ्क्रमितको सङ्ख्या तीव्ररुपमा घटिरहे पनि पूर्णरुपमा घटेको हो कि हैन भनेर पत्तालगायत परीक्षणको दायरा बढाउनुपर्ने निर्देशक पाण्डेको भनाइ छ ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू