बुधबार, वैशाख १२, २०८१
08:53 | १३:३८

नेपालमा कोरोना सङ्क्रमण दर ओरालो, ४ जिल्ला कोरोना ‘फ्री’

रासस जुलाइ ७, २०२०

कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरबाट मङगलबार छ वर्षिया बालिका निको भै घरजान लाग्दा विदाई गर्दै केन्द्र व्यवस्थापन सदस्य ध्रुव उराँव र स्वास्थ्यकर्मीहरु । तस्वीर-मनोज दाहाल, रासस

काठमाडौं । नेपालमा कोरोना सङ्क्रमण मुक्त भएर घर फर्कनेको सङ्ख्या बढ्दै गएको छ ।

हालसम्म कोरोना सङ्क्रमण मुक्त भएर घर फर्किनेको सङ्ख्या सात हजार ४९९ जना रहेका छन् । यो कूल सङ्क्रमितको ४६.३८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा कूल सङ्क्रमितको सङ्ख्या १६ हजार १६८ को आधारमा निको हुनेको दर ४६।३८ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ६८८ जना डिस्चार्ज भएको उनले बताए । आइसोलेशनमा रहनेको सङ्ख्या आठ हजार ६३४ रहेको छ । २५ हजार ७२७ जना मुलुकभरका क्वारेन्टिनमा रहेको उनले जानकारी दिए ।

सङ्क्रमण दर ओरालो

पछिल्ला पाँच दिनमा कूल परीक्षणको तुलनामा सङ्क्रमित हुनेको प्रतिशत निरन्तर घटिरहेको गौतमले बताए । कोरोना सङ्क्रमण भएर आइसोलेशनमा बसिरहेकाको सङ्ख्या पनि घट्दो रहेको उनको भनाइ छ । यही असार १९ गते नयाँ पोजेटिभको सङ्ख्या ७४० (१६.५ प्रतिशत), २० गते २३२ (५.७ प्रतिशत), २१ गते २९३ (६.२ प्रतिशत), २२ गते १८० (३.८२ प्रतिशत) र मंगलबार २०४ अर्थात् ३.३ प्रतिशत नयाँ सङ्क्रमित फेला परेको मन्त्रालयले जनाएको छ ।

यस्तै आइसोलेशनमा उपचाररत सङ्क्रमितको सङ्ख्या पनि घट्दै गएको छ । यही असार १९ गते आइसोलेशनमा कूल नौ हजार ८४ सङ्क्रमित उपचारत रहेकामा २० गते नौ हजार ४२, २१ गते नौ हजार २०३, २२ गते नौ हजार ११८ र २३ गते आठ हजार ६३४ जना उपचारका क्रममा रहेका छन् । प्रदेश २ मा महोत्तरी र रौतहट, प्रदेश ५ पाल्पा र सुदूरपश्चिम प्रदेशमा अछाम, कैलाली र बाजुरमा अहिले पनि ५०० भन्दा बढी सङ्क्रमित आइसोलेशनमा उपचाररत रहेको उनले जानकारी दिए ।

पिसिआर परीक्षणमध्ये कूल सङ्क्रमणको दर ६.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । यस्तै कोरोना पोजेटिभमध्ये मृत्युदर ०.२ प्रतिशत र जम्मा मृत्युप्रति दश लाख ‘पोजेटिभ’ मा १.२ प्रतिशत छ । हालसम्म कोरोना सङ्क्रमणबाट ३५ जनाले ज्यान गुमाएका छन् ।

कूल ७७ जिल्ला नै कोरोना प्रभावित भएकामा पछिल्लो समय चार जिल्ला ‘कोरोना फ्री’ भएका छन् । प्रदेश १ को तेह्रथुम, भोजपुर र सोलुखुम्बु तथा कर्णाली प्रदेशको हुम्ला जिल्लामा कोरोनाको ‘एक्टिभ केस’ नरहेको प्रवक्ता डा गौतमले बताए । “चारवटा जिल्लामा अहिले कुनै पनि कोरोना सङ्क्रमित बिरामीहरु हुनुहुन्न,” उनले भने ।

कर्णालीमा आइसोलेशन रित्तिँदै

कर्णाली प्रदेशमा कोरोना जितेर घर फर्कने क्रम दिन प्रतिदिन बढ्दै गएपछि आइसोलेशन केन्द्र रित्तिँदै गएको प्रवक्ता गौतमले जानकारी दिए । आइतबार पुष्टि भएको नौजनासहित कूल सङ्क्रमितको सङ्ख्या एक हजार ४९८ पुगेको छ । एक हजार ३१ जनाले कोरोना जितेर घर फर्किएका छन् । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार कोरोनाको इपिसेन्टर बनेको दैलेखमा मात्रै ७०३ जनाले कोरोना जितेर ‘डिस्चार्ज’ भएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू