विभिन्न मुलुकबाट हजार भन्दा बढी नेपाली स्वदेश फर्किए


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार ११ अन्तर्राष्ट्रिय उडान भएका छन् । विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धारका लागि गरिएका यी उडानमार्फत एक हजार १७७ नेपाली स्वदेश फर्किएका छन् ।
आज नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले मलेसियाको क्वालालम्पुरबाट १४८, साउदी अरेबियाको रियादबाट २५२ र कुवेतबाट १४९ यात्रु काठमाडौँ ल्याएको छ । दुबई र दोहाबाट थप नेपाली ल्याउन निगमको जहाज त्यसतर्फ प्रस्थान गरेको विमानस्थलले जनाएको छ । त्यस्तै हिमालय एयरलाइन्सले दमामबाट १५४ र अबुधाबीबाट १५५ नेपालीको उद्धार उडान गरी स्वदेश फर्काएको छ । सोही एयरलाइन्सको जहाज थप नेपाली ल्याउन दोहा प्रस्थान गरेको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।
जजिरा एयरलाइन्सले कुवेतबाट १६० यात्रु काठमाडौँ ल्याएको छ । कुवेतबाट यात्रु ल्याउन पुनः त्यसतर्फ उडेको विमानस्थलले जनाएको छ । शुक्रबार पनि ११ अन्तर्राष्ट्रिय चार्टर्ड उडानबाट ८७७ नेपाली स्वदेश फर्किएका थिए । आज आन्तरिकतर्फ पनि विभिन्न एयरलाइन्सका आठ चार्टर्ड उडान भएको विमानस्थलले जनाएको छ ।
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विदेशका कतार, जजिरा, टर्किसलगायत एयरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन विभिन्न मुलुकका चार्टर्ड उडान गरिरहेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५