शनिबार, वैशाख ८, २०८१
11:02 | १५:४७

विदेशमा अलपत्र नेपालीको उद्धार नियमित

काठमाडौं पुग्यो बेलायतबाट गएको चार्टर विमान

रासस जुन २७, २०२०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक सातादेखि नियमितरुपमा अन्तर्राष्ट्रिय चार्टर्ड उडान भइरहेको छ ।

ती उडानबाट कोभिड–१९ महामारीबाट विभिन्न देशमा अलपत्र परेका नेपाली धमाधम स्वदेश फर्किरहेका छन् ।

नेपालको तर्फबाट नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी क्षेत्रको हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय गन्तव्यबाट चार्टर्ड उडान गरी नेपाली काठमाडौँ ल्याइरहेका छन् भने आन्तरिक उडानको श्री एयरले पनि छोटा गन्तव्यबाट केही चार्टर्ड उडान गरिरहेको छ ।

त्यस्तै विदेशी वायुसेवा कम्पनी कतार एयरवेज, जजीरा एयर, टर्किस एयर, कोरियन एयरलगायत एयरलाइन्सले नेपालमा चार्टर्ड उडान गरिरहेका छन् । अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार शनिबार नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र जजीरा एयरले चार्टर्ड उडानमार्फत नेपाली ल्याइने तालिका छ 

शनिबार बिहान पौने ९ बजे जजीराले  कुवेतबाट नेपालीको उद्धार गरेको छ । उक्त विमानमा बेलायतबाट फर्किएका ८३ नेपाली पनि थिए । त्यसअघि आज बिहान नै हिमालय एयरलाइन्सले अबुदाबीबाट नेपाली ल्याएको छ ।  

त्यस्तै नेपाल एयरलाइन्सले साउदी अरेबियाको रियादबाट नेपाली काठमाडौं ल्याएको छ  । सोही एयरलाइन्सको जहाजले अष्ट्रेलियाको मेलबर्नबाट नेपाली काठमाडौँ ल्याउने विमानस्थलले जनाएको छ ।

अन्तराष्ट्रिय विमानस्थलमा अघिल्लो शनिबारदेखि दैनिक १० देखि १६ वटासम्म अन्तर्राष्ट्रिय उडान भइरहेका  छन् । शुक्रबार मात्रै १६ अन्तर्राष्ट्रिय उडान भएको छ । त्यसअघि असार ६, ७ र ८ गते समान १०, असार ९ र १० गते १४ र असार ११ गते १५ अन्तर्राष्ट्रिय उडान भएको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । उल्लेखित उडान यात्रु चार्टर्ड तथा केही कार्गो उडान हुन् ।

सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करिब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाइन्सलाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्ने गरी अनुमति दिएको थियो । त्यस्तै २४ वटासम्म विदेशी एयरलाइन्सलाई उडान अनुमति दिइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू