शनिबार, वैशाख १५, २०८१
20:13 | ००:५८

पाकिस्तानमा ३० प्रतिशत भन्दा बढी नक्कली पाइलट

३ पाइलटमध्ये १ जनाको प्रमाणपत्र नक्कली

नेपाली लिङ्क जुन २५, २०२०

लन्डन । पाकिस्तानमा ३० प्रतिशत भन्दा बढी विमान चालकको अनुमति पत्र नक्कली भएको पत्ता लागेको छ । प्रत्येक ३ जना पाइलटमध्ये १ जनाको प्रमाणपत्र नक्कली भएको पाकिस्तानका नागरिक उड्ययन मन्त्री गुलाम सरवार खानले दावी गरेका छन् ।

विमान उडाउने आवश्यक अनुभव नभएका व्यक्तिले विमान चालकको अनुमति पत्र लिएको मन्त्रीको भनाइ छ । पाकिस्तानमा २ सय ६२ जनाले परीक्षामा स्वयं उपस्थिति नभई विमान चालकको अनुमति पत्र लिएको मन्त्री गुलामले राष्ट्रिय सभामा बताएका थिए ।

उनीहरुले आफ्नो स्थानमा अन्य व्यक्तिलाई पैसा तिरेर परीक्षा दिन लगाएका थिए । पाकिस्तान इन्टरनेशनल एअरलाइन्स (पीआइए) मा मात्र नभएर देशका अन्य एअरलाइन्स कम्पनीमा समेत नक्कली प्रमाणपत्र पेश गरिएको बताइएको छ ।

गत मे २२ मा कराँचीमा९७ जनाको ज्यान जाने गरि भएको विमान दुर्घटनाको छानबिन गर्ने क्रममा सो कुरा खुलासा भएको हो । उक्त विमान लाहोरबाट उडेर कराँची नजिकैको एक बस्तीमा दुर्घटनाग्रस्त भएको थियो ।

उडानका समयमा पाइलटहरु कोरोना कुराकानीमा व्यस्त रहेकाले एअर ट्राफिकको चेतावनीलाई समेत उनीहरुले बेवास्ता गरेका कारण उक्त दुर्घटना भएको प्रतिवेदनमा छ । सो दुर्घटनामा दुईजना भने बाँच्न सफल भएका थिए ।

पाकिस्तानमा ८ सय ६० जना पाइलट सक्रिय रुपमा कार्यरत छन् जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान भर्ने गर्दछन् । पाकिस्तानले नक्कली अनुमति पत्र भएका सबै विमान चालकलाई तत्कालै लागू हुने गरी रोक लगाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू