शुक्रबार, चैत १६, २०८०
04:54 | १०:३९

फोकस्टन शहरको प्रवेशद्वारमा नेपाली राष्ट्रिय झण्डा अंकित स्वागत बोर्ड

नेपाली लिङ्क जुन २३, २०२०

लन्डन । बेलायतको फोकस्टन शहर पस्ने प्रवेशद्वारमा नेपाली राष्ट्रिय झण्डा अंकित स्वागत बोर्ड स्थापना गरिएको छ ।

केही महिना अघि मितेरी साइनो गांसेको फोकस्टन टाउन काउन्सिलले सोमबार नेपाली झण्डा र मितेरी शहर मेचीनगर नगरपालिकाको नामसहित उक्त बोर्ड स्थापना गरेको हो ।

फोकस्टन शहर पस्ने चार बाटो लन्डन एम ट्वान्टी मोटर वे, इंग्लिस च्यानलबाट डोभर हुंदै पस्ने मुख्य सडक, ब्याटल अफ ब्रिटेन हुंदै पस्ने कोस्टल रोड र हाइथ र लिड शहर हुंदै पस्ने पश्चिम कोस्टल रोडको नाकामा बोर्ड राखिएको छ ।

भगिनी सम्बन्धका लागि फोकस्टनका तर्फबाट अध्यक्ष रहेकी फोकस्टन मेयर काउन्सिलर ज्याकी मेडले बोर्ड उद्घाटन गरिन् ।

दुई शहरबीच मितेरी साइनो स्थापित गर्न संयोजन गरेका पूर्व काउन्सिलर धन गुरुङले बोर्ड स्थापनाप्रति खुशी व्यक्त गर्दै बेलायत र नेपालका दुई शहरले भविष्यमा सांस्कृतिक, सामाजिक, आर्थिक, शैक्षिक सहयोग तथा अनुभव सांटासाट गर्ने विश्वास व्यक्त गरे । उनलाई यस कार्यले बेलायत नेपाल ऐतिहासिक सम्बन्ध थप मजवुत हुने अपेक्षा छ ।

ति दुई शहरबीच मितेरी साइनो गांस्न लन्डनस्थित राजदूत डा. दुर्गाबहादुर सुवेदीको पनि विशेष भूमिका रहेको गुरुङले स्मरण गरे । मेचीनगरलाई सूचना प्रविधिमैत्री बनाउने कार्य शुरु भइसकेको छ ।

गत अक्टोबर ७ मा यूकेमा फोकस्टन शहर र मेचीनगरनगरपालिकाबीच मितेरी सम्बन्ध स्थापित भएको थियो भने फेब्रुअरीमा नेपालमा मितेरी सम्बन्धको औपचारिक कार्यक्रम गरिएको थियो ।

गोर्खा मेमोरियल फण्डको वार्षिक कार्यक्रमका अवसरमा जुराइएको मितेरी साइनोका लागि मेचीनगर नगरपालिकाका मेयर विमल आचार्य र उनकी जीवनसंगिनी नेपालबाट आएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू