शुक्रबार, वैशाख १४, २०८१
13:20 | १८:०५

नेपालमा थप ५ सय ३५ जनामा कोरोना सङ्क्रमण

नेपाली लिङ्क जुन २२, २०२०

काठमाडौँ । नेपालमा आज थप ५ सय ३५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या ९ हजार ५ सय ६१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेनलमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

नयाँ सङ्क्रमितसँगै सङ्क्रमितको सङ्ख्या नौ हजार ५६१ पुगेको छ । तीमध्ये आठ हजार ६६७ पुरुष र ८९४ महिला रहेका छन् । गौतमले रसुवाबाहेक ७६ जिल्लामा सङ्क्रमण देखिएको बताए । यसैगरी एक लाख ८१ हजार ३७१ जनामा पिसिआर र दुई लाख ६८ हजार १०३ जनामा आरडिटी परीक्षण गरिएको छ । पछिल्ला २४ घण्टामा पिसिआर छ हजार १९८ र आरडिटी पाँच हजार ९२९ जनामा गरिएको छ । यस्तै ९० हजार ३७० जना क्वारेन्टिन र सात हजार ७८९ जना आइसोलेशनमा रहेका छन् ।

कोभिड– १९ बाट निको भएर घर फर्कने सङ्ख्या आज अहिलेसम्मकै धेरै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न अस्पतालबाट आज एकैदिन ३७० जना घर फर्किएका बताए । तीमध्ये ३३८ पुरुष र ३२ महिला निको भएर घर फर्किएका छन् । आइतबार मात्र १९४ जना डिस्चार्ज भएका थिए ।

आज डिस्चार्ज भएर घर फर्कनेमा दैलेखस्थित दैलेख अस्पतालबाट धेरै रहेका छन् । उक्त अस्पतालबाट निको भएर घर फर्कनेमा २६५ जना छन् । तीमध्ये १९ महिला र २४६ पुरुष छन् । कोरोना विशेष अस्पताल दाङबाट एक महिला र पाँच पुरुष, प्रादेशिक अस्पताल सुर्खेतबाट चार महिला र दुई पुरुष, कालिकोट अस्पताल कालिकोटबाट दुई महिला र २६ पुरुष, सल्यान अस्पताल सल्यानबाट एक महिला र ३६ पुरुष, नारायणी अस्पताल वीरगञ्जबाट दुई महिला र नौ पुरुष, धादिङ अस्पताल धादिङबाट चार महिला र १३ पुरुष रहेका छन् । अहिलेसम्म दुई हजार १४२ जना डिस्चार्ज भइसकेका छन् । तीमध्ये १६१ महिला र एक हजार ९६१ पुरुष छन् ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट २३ जनाको मृत्यु भैसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू