बिहीबार, चैत १५, २०८०
13:03 | १८:४८

नेपालमा कोभिड सङ्क्रमितमध्ये ९५ प्रतिशत विदेशबाट आएका

रासस जुन २१, २०२०
काठमाडौं । नेपालमा कोभिड–१९ सङ्क्रमितको संख्या नौ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार नौ हजार २६ जनामा कोभिडको सङ्क्रमण पुष्टि भएको सन्दर्भमा अहिलेसम्म यो रोग समुदायमा नफैलिएको विज्ञले बताएका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुवेद पाण्डे सङ्क्रमितको संख्या बढिरहे पनि कोभिडको सङ्क्रमण समुदायमा फैलिनसकेको बताउंछन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आइतबार कोभिड–१९ बारे जानकारी दिंदै डा पाण्डले नेपालमा कोभिडका सङ्क्रमितमध्ये अधिकांश विदेशबाट आयातीत व्यक्ति भएकाले नेपालमा अहिलेसम्म समुदायमा रोग नभएको बताए ।
उनका अनुसार कूल कोभिडका सङ्क्रमितमध्ये ९५ प्रतिशत विदेशबाट आएका र तीमध्ये पनि सबैजसो भारतबाट आएका छन् । यो संख्यामा ९२ प्रतिशत पुरुष छन् । उनीहरु १५ देखि ५४ वर्ष उमेरका छन् । उनीहरु श्रमका लागि विदेश गएका र नेपाल फर्कदा कोभिड सङ्क्रमित भएर आएको अवस्था रहेको डा पाण्डेले बताए ।
उनले भने, “अहिलेसम्म कोभिड सङ्क्रमितमध्ये सबैजसो व्यक्ति विदेशबाट आएका र आयातीत व्यक्ति पनि धेरैजसो पुरुष हुनुहुन्छ, उहांहरु काम विशेषले विदेश गएर फर्किएकाले नेपालमा अहिलेसम्म समुदायमा रोग नगएको कुरा पुष्टि हुन्छ ।”
डा पाण्डेले अहिलेसम्म मृत्युको अवस्था हेर्दा पनि कोभिड–१९ का कारण मृत्यु भएका २३ मध्ये चार महिला र बांकी पुरुष रहेको बताए । उनीहरुको विभिन्न किसिमका दीर्घ रोगका कारण मृत्यु भएको देखिन्छ । विशेषगरी किड्नी, दम, उच्च रक्तचापआदिका बिरामीको बढी मृत्यु हुने गरेको बताइएको छ ।
अहिले दैनिक बढेको कोभिड सङ्क्रमितको ग्राफ अबको केही दिनमा क्वारेन्टिनको परीक्षण सकिएपछि सङ्क्रमितको संख्या पनि घट्दै जाने उनले बताए । पछिल्लोपटक ६ देखि ८ दिनको अवधिमा झण्डै दोब्बर सङ्क्रमित बढेका छन् । अहिले परीक्षणको दायरा बढेको र विदेशबाट आउनेक्रम पनि बढिरहेकाले संख्या धेरै देखिएको डा पाण्डेको भनाइ छ ।
महाशाखाले सम्भावित सङ्क्रमितको कन्ट्याक ट्रेसिङका लागि २० वटा टिम तयारी अवस्थामा रहेका र हरेक प्रदेशमा तीन तीन टिम परिचालन भइरहेका जानकारी दिंदै यो कार्यलाई बढाइ समुदायमा कोभिडको सङ्क्रमण जान नदिन सक्रियरुपमा लागि परेको निर्देशक पाण्डेले बताए ।
थप ४२१ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि
पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले आइतबार जम्मा ४२१ जनाको पिसिआर पोजेटिभ आएको र त्यसमध्ये ६४ महिला र ३५७ पुरुष रहेको जानकारी दिए । योसंगै हालसम्म नौ हजार २६ जनाको पिसिआर पोजेटिभ आएको छ । तीमध्ये ८२० जना महिला र आठ हजार २०६ जना पुरुष छन् । हालसम्म देशका ७५ जिल्लामा कोभिड–१९ सङ्क्रमित भेटिएका छन् ।
एक हजार ७७२ डिस्चार्ज
पछिल्लो २४ घण्टामा आठ महिला र १८६ पुरुष गरी कूल १९४ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । योसंगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या १४९ महिला र एक हजार ६२३ पुरुष गरी कूल एक हजार ७७२ पुगेको छ ।
२३ सङ्क्रमितको मृत्यु
आज थप एक व्यक्तिको कोभिड–१९ सङ्क्रमितका कारण मृत्यु भएको छ । योसंगै कोभिड सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको मन्त्रालयले जनाएको छ । आज मृत्यु हुनेमा गुल्मी क्षत्रकोट गाउंपालिका–५ 
मैनडांडांका ६९ वर्षीय पुरुषको मृत्यु भएको छ । उनी प्यारालाइसिस उपचारका लागि भारत गएर फर्किएको र घरमै क्वारेन्टिनमा बसेका थिए ।
पछिल्लो २४ घण्टामा विभिन्न २२ वटा प्रयोगशालामा छ हजार आठ जनाको पिसिआर विधिबाट नमूना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै नौ हजार ८७४ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार हालसम्म पिसिआर विधिबाट एक लाख ७५ हजार १७३ र आरडिटी विधिबाट दुई लाख ६२ हजार १७४ नमूनाको परीक्षण गरिएको छ । मुलुकभरका क्वारेन्टिनमा ९४ हजार ९२८ जना रहेका छन् । आइसोलेशनमा रहनेको संख्या सात हजार २३१ छ ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू