शनिबार, वैशाख ८, २०८१
22:54 | ०३:३९

संक्रमित ९ हजार नाघे, मृत्यु हुने २३

नेपाली लिङ्क जुन २१, २०२०

काठमाडौं । नेपालमा कोरोना संक्रमण हुनेको संख्या ९ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको कुल संख्या ९ हजार २६ पुगेको जानकारी दिए ।

उनका अनुसार आइतबार मात्र ४२१ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकामध्ये ६४ महिला र ३५७ पुरुष छन् । त्यस्तै, कुल संक्रमितमध्ये ८२० महिला र आठ हजार दुई सय ६ पुरुष छन् । कोरोनाले ज्यान गुमाएका २३ मध्ये चार महिला र १९ पुरुष छन् ।

यसैबीच नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार असार ५ गते मृत्यु भएका गुल्मीको चन्द्रकोट गाउँपालिका ५ का ६९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो।

प्यारालाइसिसको उपचारका लागि भारत गएको र जेठ २५ गते नेपाल आएका वृद्धको असार ५ गते होम क्वारेन्टाइनमै मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए ।

गौतमका अनुसार मृत्युपछि पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको हो । ६ गते भैरहवा प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना पुष्टि भएको थियो । उनको शव असार ६ गते नेपाली सेनाको विशेष टोलीले व्यवस्थापन गरिसकेको छ ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ९४ हजार ९ सय २८ छन् भने ‘आइसोलेसन’ मा सात हजार दुई सय ३१ जनाको उपचार भइराखेको छ ।

आइतबार मात्र ८ महिला र १८६ पुरुष गरेर १९४ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म कोरोना जित्नेको संख्या भने १७ सय ७२ पुगेको छ । जसमध्ये १४९ महिला र १६ सय २३ पुरुष छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू