ट्रम्पद्वारा प्रहरी सुधार सम्बन्धी आदेशमा हस्ताक्षर
वासिङ्टन, ३ असार– प्रहरी नियन्त्रणमा अश्वेत नागरिक जर्ज फ्लोएडको मृत्युलाई लिएर देशव्यापी विरोध प्रदर्शन भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रहरी सुधार सम्बन्धी एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
ह्वाइट हाउसमा आयोजित कार्यक्रमबीच उक्त आदेशमा हस्ताक्षर गर्दै राष्ट्रपति ट्रम्पले नयां आदेशले प्रहरीको दैनिक कार्यमा व्यापक परिवर्तन ल्याउने अपेक्षा गरे ।
तर प्रहरी कारबाहीहरुमा रंगभेद देखिएको विषयलाई लिएर देशव्यापी विरोध प्रदर्शनका बारेमा भने राष्ट्रपति ट्रम्पले केही बताएनन् ।
कार्यकारी आदेशमा हस्ताक्षर गर्नुअघि ह्वाइट हाउसमा प्रहरी कारबाहीमा मारिएका केही अश्वेत नागरिकका परिवारजनसंग भेटघाट गरेका थिए ।
तर ह्वाइट हाउस समारोहमा राष्ट्रपति ट्रम्पले अमेरिकी प्रहरीका साहसिक कार्यहरुका बारेमा खुलेर प्रशंसा पनि गरेका थिए । केही प्रहरी अधिकृतले अनावश्यक रुपमा अत्यधिक शक्ति प्रयोग गरेकामा आफू दुःखित भएको उनले बताए ।
राष्ट्रपति ट्रम्प र कंग्रेसमा रिपब्लीकन सांसदहरुबीच प्रहरी निर्दयता र जातीय विभेदका विरुद्ध अमेरिकी शहरहरुमा जारी प्रदर्शनलाई सम्बोधन गर्ने उपायको खोजी हुन थालेको छ । यी दुई विषयले राजनीतिक रुप पनि लिएको छ । अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपतिको चुनाव हुन लागेकाले पनि राष्ट्रपति ट्रम्प र रिपब्लीकन पार्टीमाथि दबाब बढेको छ ।
ट्रम्पको कार्यकारी आदेशमा अत्यधिक शक्तिको प्रयोग गर्ने प्रहरीहरुको राष्ट्रव्यापी रेकर्ड राखिने उल्लेख छ । सामान्यतया प्रहरी ज्यादतीको विवरण राख्ने गरिए पनि त्यसलाई गोप्य राख्ने गरिएको थियो । कुनै प्रहरीमाथि लाञ्छना लागेको छ छैन् भन्ने थाहा पनि विगतमा कठिन हुने गरेको थियो ।
नयां आदेशमा प्रहरी विभागलाई राम्रा र असल अभ्यास अघि बढाउन आर्थिक सहायता दिने भनिएको छ । सामाजिक कार्यकर्ताहरुले पनि प्रहरीलाई मद्दत गर्न सक्नेछन् । मानसिक स्वास्थ्य, कुलत र घरबारविहीन जस्ता मामिलामा सामाजिक कार्यकर्ताको सहयोग लिन अब प्रहरीलाई सहज हुनेछ ।
राष्ट्रपति ट्रम्पले कुनै प्रहरीमाथि आफ्नो जीउज्यानमा खतरा नहुंदासम्म कुनै पनि व्यक्तिलाई घांटी थिचेर नियन्त्रणमा ल्याउन प्रतिबन्ध लगाएको बताए ।
राष्ट्रपति ट्रम्पले आफूले हस्ताक्षर गरेको कार्यकारी आदेश ऐतिहासिक बताए पनि विपक्षी डेमोक्रयाट र आलोचकहरुले राष्ट्रपतिको आदेश पर्याप्त नभएको बताएका छन् ।
सिनेटमा डेमोक्रयाटिक पार्टीका नेता चक सुमर तथा सभामुख न्यान्सी पेलोसीले विगत वर्षमा हासिल भएका उपलब्धिलाई पनि नयां आदेशले नजरअन्दाज गरेको भन्दै रोष प्रकट गरे ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५