शुक्रबार, वैशाख १४, २०८१
04:49 | ०९:३४

एकैदिनमा बढे अहिलसम्मकै धेरै संक्रमित, मृत्यु हुने २० पुगे

थप एकको मृत्यु, ५ सय ८६ जनामा संक्रमण

रासस जुन १७, २०२०


काठमाडौँ । कोभिड-१९ का कारण नेपालमा बुधबार थप एक जनाको मृत्यु भएको छ ।

बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बैजापुर गाउँपालिकाका­ ६ की ४६ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीसँगै कोभिड-१९ का कारणले मृत्यु हुनेको संख्या २० पुगेको छ ।

मिर्गौलासम्बन्धी रोग लागेकी महिलाको गत जेठ ३० गते उपचारका लागि अस्पताल भर्ना भएकामा असार १ गते निधन भएको बुधबार मन्त्रालयमा आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार ती महिलाको असार १ गते स्वाब संकलन गरी भेरी अस्पतालमा रहेको प्रयोगशालामा परीक्षण गराउँदा संक्रमण पाइएको थियो ।

५८६ जना संक्रमण

मन्त्रालयका प्रवक्ता डा गौतमले कोभिड-१९ को संक्रमण बुधबार ५ सय ८६ जनामा देखिएको जानकारी दिए । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ५ सय ४६ पुरुष र ४० महिलामा संक्रमण देखिएको छ ।

आज देखिएको संक्रमणको संख्या अहिलेसम्मकै सबभन्दा धेरै हो । नयाँ संक्रमितसँगै संक्रमितको कुल संख्या सात हजार १ सय ७७ पुगेको छ । तीमध्ये छ हजार ६ सय ३८ पुरुष र ५ सय ३९ जना महिला छन् ।

नौ डिस्चार्ज

बुधबार कोभिड-१९ को संक्रमणबाट नौ जना पुरुष निको भई घर फर्किएका छन् । प्रवक्ता डा गौतमका अनुसार महेन्द्र गेनाई अस्पताल सिराहामा छ जना, नारायणी अस्पताल वीरगञ्जमा रौतहटका दुई जना र पर्साका एक जना डिस्चार्ज भएका हुन् ।

अहिलेसम्म कुल १ हजार १ सय ६७ जना डिस्चार्ज भएर घर फर्किएका छन् । तीमध्ये एक हजार ५५ पुरुष र १ सय १२ महिला छन् । यसैगरी अहिलेसम्म एक लाख ४९ हजार ७ सय ७२ जनामा पिसिआर तथा दुई लाख ३३ हजार ९ सय ४३ जनामा आरडिटी परीक्षण गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू