शनिबार, वैशाख १५, २०८१
00:55 | ०५:४०

कोरोनाले यो साता विदेशमा मृत्यु हुने नेपालीको संख्या शून्य

नेपाली लिङ्क जुन १४, २०२०

लन्डन । कोरोना भाइरस संक्रमणले विदेशमा मृत्यु हुने नेपालीको संख्या यो साता शून्य भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विगत ८ साता लगातार विभिन्न देशमा नेपालीहरुले ज्यान गुमाएकामा यो साता भने कुनै नेपालीले ज्यान गुमाउनु परेन । एनआरएनए अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विश्वका विभिन्न देशमा कोरोना संक्रमण दरमा शनिबार साँझसम्म उल्लेख्य कमी आएको छ ।

डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, जापान, म्यानमार, पोल्याण्ड, रुस, न्यूजील्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियमलगायत १५ देशमा बस्ने नेपाली कोरोना संक्रमणबाट मुक्त भएका छन् । एनआरएनए स्वास्थ्य समितिले यो साता विदेशमा ९ हजारभन्दा बढी नेपाली कोरोना संक्रमणबाट मुक्त भएका जनाएको छ । तथ्यांकअनुसार विदेशमा रहेका १७ हजार ७ सय ९२ जना नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार सो साता पहिलो पटक अफ्रिकी मुलुकमा रहेका ३ जना नेपालीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । संघको तथ्यांकमा कोरोना संक्रमणले हालसम्म १ सय २७ जना नेपालीले विदेशमा ज्यान गुमाएका छन् भने नेपालमा ज्यान गुमाउने संख्या १८ पुगेको छ । हालसम्म विश्वभर कोरोनाका कारण १४५ जना नेपालीले ज्यान गुमाएका छन् ।

सापकोटाका अनुसार नेपालका ५ हजार ३ सय ३५ सहित विश्वभरका ३५ देशमा २३ हजार १ सय २७ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोना भाइरसका कारण बेलायत, बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेनलगायत १३ देशमा रहेका नेपालीहरुको ज्यान गएको थियो ।

सहयोग
एनआरएनएले विदेशमा अलपत्र परेका नेपालीका लागि आर्थिक सहयोगको दायरालाई फराकिलो बनाएको छ । यो साता गर्भवती महिला र बालबालिकाका लागि आर्थिक सहयोग वितरण गरिएको छ । एनआरएनए कोषाध्यक्ष महेश श्रेष्ठका अनुसार संघले कुवेत र युएईका समस्यामा परेका नेपाली गर्भवती महिला र बालबालिकाका लागि थप आर्थिक सहयोग वितरण गरेको हो ।

संघले कोभिड १९ बाट पीडित गैरआवासीय नेपालीहरुलाई तेश्रो चरणअन्तर्गत कुवेत र युएईमा ६–६ हजार डलर, फ्रान्स र डेनमार्कमा रहेका नेपालीहरुका लागि २ हजार अमेरिकी डलर सहयोगको घोषणा गरेको छ । यसअघि संघले मलेसिया, बहराइन, स्पेन, पोर्चुगल, ईटाली, माल्टा, कुवेत, युएइ, सउदी अरब र साइप्रसमा कोरोनाबाट प्रभावित नेपालीका लागि आर्थिक सहयोग उपलब्ध गराएको थियो ।

संघले हालसम्म विदेशमा कोभिड पीडित नेपालीका लागि ६६ लाख रुपैयाँ सहयोग गरिसकेको छ ।
उता, एनआरएनएले बिहीबारसम्म विदेशमा अलपत्र परेका पाँच सयभन्दा बढी नेपालीको उद्दार गरिएको जनाएको छ । संघका अध्यक्ष कुमार पन्तले बिहीबार मात्र कुवेत सरकारको सहयोगमा २ सय ९९ नेपाली स्वदेश फर्किएका जानकारी दिए ।

अध्यक्ष पन्तका अनुसार कुवेतको घर फिर्ती शिविरमा रहेका थप दुई हजार नौ सय ९१ जनालाई हरेक दिन दुई उडान गरी नेपाल फर्काउने तयारी भएको छ । अहिलेसम्म गैरआवासीय नेपाली संघ र विदेशस्थित नेपाली दुतावासको समन्वयमा म्यानमारबाट २६, खाडी मुलुक दुबईबाट एक सय ६८, अष्ट्रेलियाबाट ११, जापानबाट ७ र कुवेतबाट २ सय ९९ गरी समय ५ सय ११ जनाको उद्दार गरिएको छ ।

संयुक्त राष्ट्रसंघमा छलफल
यसैबीच नेपाली श्रमिकको उद्धारको लागि एनआरएनएले संयुक्त राष्ट्रसंघमा छलफल गरेको छ । गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार राष्ट्रसंघअन्तरगतको इन्टरनेश्नल अर्गनाइजेशन फर माइग्रेसन (आइओएम) सँग संघका अध्यक्ष कुमार पन्तसहितको टोलीले छलफल गरेको थियो ।

गत बुधवार भिडियो कन्फ्रेन्समार्फत भएको छलफलमा राष्ट्रसंघअन्तर्गत नेपाल मिसनकी प्रमुख लोरेना लान्डाले आइएमओ विदेशमा रहेका नेपालीको उद्दारका लागि सहयोग गर्न इच्छुक रहेको जानकारी दिएकी थिइन् । आइओएमले कोरोना भाइरस संक्रमणका कारण नेपाल फर्किएका नेपालीलाई विमानस्थलबाट होल्डिङ्ग सेन्टरसम्म लैजानसमेत सहयोग गर्न इच्छुक रहेको जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू