बिहीबार, चैत १५, २०८०
17:45 | २३:३०

नेपालमा थप २७३ जनामा कोरोना संक्रमण

मृतक १८ र संक्रमित ५ हजार ३३५

रासस जुन १३, २०२०

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितमा २४७ पुरुष र ३६ महिला  छन् । हालसम्म कूल संक्रमितको संख्या पाँच हजार ३३५ पुगेको छ ।

यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पर्साका २५ वर्षीय पुरुष र निजगढ बाराका पाँच वर्षीय बालकको मृत्यु भएको हो ।

यही जेठ २८ गते पर्सामा एक पुरुषको शव भेटिएको थियो । नारायणी अस्पताल वीरगञ्जमा शव परीक्षणका क्रममा स्वाब सङ्कलन गरिएको र सोही अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको डा गौतमले जानकारी दिए ।

यस्तै डिस्चार्ज हुनेको संख्या भने ३६ पुगेको छ । हालसम्म ९१३ जना डिस्चार्ज भएका छन् । त्यसमा ८२२ पुरुष र ९१ महिला छन् । निजगढका बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो । निमोनिया भएका ती बालकको आरडिटी र पिसिआर दुवै परीक्षण गर्दा दुवैमा पोजेटिभ देखिएको थियो ।

यस्तै पछिल्लो २४ घण्टामा पाँच हजार ६६१ जनाको पिसिआर परीक्षण गरिएको छ । हालसम्म पिसिआर परीक्षण गर्नेको संख्या कूल एक लाख २७ हजार २८८ पुगेको छ । यस्तै आरडिटी परीक्षणको संख्या एक लाख ९० हजार ५८२ पुगेको छ । पछिल्लो २४ घण्टामा आरडिटी परीक्षण मात्रै दुई हजार ५२० को गरिएको छ । यस्तै मोबाइल एप र मन्त्रालयको वेबसाइटमा भरिएको विवरणका आधारमा रेड जोनमा पर्नेको संख्या शनिबार थप दुई गरी ४९७ पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू