मंगलबार, वैशाख ११, २०८१
19:00 | २३:४५

बेलायतबाट नेपाल फर्किन चाहनेको संख्या ४ सय २० पुग्यो

दुई वटा जहाज चार्टर गर्ने योजना

नेपाली लिङ्क जुन १२, २०२०

लण्डन । बेलायतबाट नेपाल फर्किन चाहनेको संख्या थपिएर ४ सय २० पुगेको छ । यसअघि नेपाली दूतावास लन्डनले ३ सय ९१ जनाको विवरण काठमाडौंस्थित परराष्ट्र मन्त्रालयमा पठाएको थियो ।

तर नेपाल फर्किनेको संख्यामा वृद्धि हुदै गएपछि नेपाली दूतावास लन्डनद्वारा थप २९ सहित ४ सय २० जनाको नामावली काठमाण्डौ पठाइएको दूतावासका उपनियोग प्रमुख शरदराज आरनले जानकारी दिएका छन् ।

नेपाल फर्किनेको संख्या थपिएपछि दुईवटा जहाज चार्टर गर्ने योजना रहेको बताउँदै आरनले अरु थप नेपालीलाई पनि लैजान सकिने बताए ।

लकडाउनका कारण बेलायतमा रोकिएका नेपालीहरुलाई स्वदेश फर्काउने सरकारको नीति अनुरुप नेपाली दूतावास लन्डनले गैर आवासीय नेपाली संघ यूकेको सहयोगमा प्रक्रिया  अगाडि बढाइरहेको छ ।  

नेपाल फर्कनेले पिसिआर टेस्ट अनिवार्य गराउनुपर्ने भएपछि दूतावासले यहाँको विदेश मन्त्रालयलाई एक पत्र लेखी नेपालीलाई विशेष प्राथमिकता दिएर छिटो गरिदिन आग्रह गरेको थियो ।

तर विदेश मन्त्रालयले एनएचएसबाट परीक्षण गराउन कोरोनासम्बन्धी लक्षण देखिएको हुनुपर्ने भएकाले पिसिआर टेष्ट निजी क्लिनिकबाट गराउन सुझाएको छ ।

उक्त परीक्षणका लागि  https://nhms.health/ मा गएर टेष्ट किट अर्डर गरी परीक्षण गर्न सकिने दूतावासले जनाएको छ ।

नेपाल सरकारले विदेशका नेपाली फर्काउने उडान तालिकामा युरोप र बेलायतलाई जुन २० मा राखेपनि दूतावासले भने जुन अन्तिमसम्ममा नेपाल फर्काउन सकिने बताएको छ ।

नेपाल जान नाम दर्ता गर्नेहरुमा महामारीका बेला रोजगारी गुमाएका, भिसा सकिएका, अलपत्र विद्यार्थी, जाँच दिन आएका डाक्टर, तालिम लिन आएका सैनिक, कर्मचारी लगायत छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू