शनिबार, वैशाख १५, २०८१
21:24 | ०२:०९

राष्ट्रियताका पक्षमा देखिएको एकताप्रति गर्व गर्छु: प्रम ओली

रासस जुन १०, २०२०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताका सवालमा प्रतिनिधिसभामा देखिएको अभूतपूर्व एकताप्रति गर्व महसुस भएको बताएका छन् ।

विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा सम्बन्धित निकायका शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनुअघि बुधबार प्रतिनिधिसभा बैठकमा उनले संसदमा देखिएको असाधारण एकताले आजका राष्ट्रियता र कोभिड –१९ वा यसले उत्पन्न गरेका जटिलताको सामना गर्न हौसला प्रदान गरेको बताए ।

सरकारले नेपालको नयाँ नक्साअनुसार संविधानको अनुसूची सच्याउन प्रतिनिधिसभामा पेश गरेको संविधान संशोधन प्रस्तावप्रति मंगलबारको बैठकमा सबै दलले सहमति जनाएका थिए ।

प्रधानमन्त्री ओलीले भने,’दलीय व्यवस्थामा यस्ता एकता कहिले कहिले मात्र देख्न पाइन्छ । तर हाम्रो संसद् यस्ता मामिलामा गम्भीर छ । आवश्यक परेको बेला एकताबद्ध भएर अघि बढ्न सक्छ भन्ने यस घटनाले देखाएको छ । यसका लागि सबै सांसद र सदनलाई धन्यवाद दिँदै आभार प्रकट गर्दछु ।’

उनले संसद भन्दा बाहिर पनि देखिएको एकताका लागि सबैलाई धन्यवाद दिँदै खुशी व्यक्त गरे ।

यसमा कसले जस लिने भन्दा पनि यो सबै नेपालीको साझा प्रकटीकरण भएको उल्लेख गर्दै प्रधानमन्त्रीले यसमा कसैले पनि जस पाउला भनेर र कोही जस लिनबाट छुट्ला भनेर चिन्ता लिनु नपर्ने बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू