बिहीबार, वैशाख १३, २०८१
09:31 | १४:१६

पाँचौं वातावरण साहित्य गोष्ठी भर्चुअल माध्यमबाटै गरिंदै

नेपाली लिङ्क जुन २, २०२०


लन्डन । यही जुन ५ र ६ का दिन जुम एपमार्फत ‘भर्चुअल’ रुपमै पाँचौं वातावरण साहित्य गोष्ठी आयोजना गरिने भएको छ ।

गोष्ठीको पहिलो दिन शुक्रबार जुन ५ को कार्यक्रममा नेपालबाट प्रा डा. गोविन्दराज भट्टराई र भारतबाट समालोचक ज्ञानबहादुर छेत्रीले विशेष अतिथि साहित्यकारको रुपमा भाग लिनेछन् ।

त्यसैगरी, दोस्रो दिन शनिबार जुन ६ को कार्यक्रममा बेलायतबाट राजदूत डा. दुर्गाबहादुर सुवेदी र नेपालबाट प्रा डा खगेन्द्रप्रसाद लुइँटेल विशेष अतिथि साहित्यकारको रुपमा सहभागी हुँदैछन् ।

कार्यक्रम संयोजक विजय हितानका अनुसार पहिलो दिनको कार्यक्रममा नेपालका स्रष्टा र दोस्रो दिनको कार्यक्रममा बेलायतस्थित स्रष्टाहरुले आफ्ना सिर्जना वाचन गर्नेछन् ।

गोष्ठीमा वातावरणसम्बन्धी ‘इको सिर्जना’ वाचन हुने भएकोले ईच्छुक सहभागीहरुले जुममार्फत भाग लिएर आफ्ना सिर्जना सुनाउन सक्ने संयोजक हितानले बताए ।

नेपाल र भारतबाहेकका देशमा रहेका स्रष्टाहरुले भने गोष्ठीका दुवै दिन पनि आफ्नो इको सिर्जनासहित सहभागिता जनाउन सक्नेछन् ।

गोष्ठीमा सहभागी भएर सिर्जना वाचन गर्न चाहने स्रष्टाहरुले आफ्नो सिर्जनासहित संयोजक विजय हितानलाई सम्पर्क राख्न आग्रह गरिएको छ ।

हरेक वर्ष बेलायतमा रहेका नेपाली साहित्यिक संस्थाहरुको संयुक्त आयोजनामा हुँदै आएको वातावरण साहित्य गोष्ठीको यसपटक पाँचौं श्रृंखला हो ।

नेपाली साहित्य विकास परिषद, अन्तरराष्ट्रिय नेपाली साहित्य समाज, अन्तरराष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान, नेपाल मुक्तक प्रतिष्ठान, विश्व नेपाली साहित्य महासंघ साउथ यूके, विश्व नेपाली साहित्य महासंघ वेष्ट युके, साहित्य चौतारी यूके, साहित्य संगम यूके, समकालीन साहित्य प्रतिष्ठान, विश्व नेपाली प्रज्ञा प्रतिष्ठान, एनआरएनए यूके भाषा साहित्य विभाग, साहित्य संगालो, प्रवासी नेपाली साहित्य समाज, नेपाली प्रतिभा प्रतिष्ठान आयोजक संस्थाको रुपमा आबद्ध छन् ।

त्यसै गरी बिएफबिएस गोर्खा रेडियो, एभरेष्ट टाइम्स् र नेपाली लिंकले मिडिया पार्टनरको भूमिका निभाउँदैछन् ।

विभिन्न साहित्यिक संस्थाहरु मिलेर सन् २०१६ देखि विश्व वातावरण दिवस पारेर बेलायतमा वातावरण साहित्य गोष्ठी आयोजना हुँदै आएको छ । विश्व वातावरण दिवस हरेक वर्ष जुन ५ का दिन मनाइन्छ । संयुक्त राष्ट्रसंघले संयोजन गर्ने यस दिवसको यस वर्षको नारा ‘प्रकृतिलाई समय’ छ ।

‘विश्व वातावरण दिनदिनै प्रदुषित हुँदै गइरहेको छ । जैविक विविधतामा ह्रास आउँदै छ । जलवायु परिवर्तनको नकारात्मक असर वन्यजन्तु तथा वनस्पतिमा अपरिवर्तनीय तरिकाले पर्दैछ जसले मानवीय अस्तित्वमा नै प्रश्न चिन्ह खडा गरिदिएको छ । यी सबैका प्रमुख कारक मानविय गतिविधिहरु हुन् भनेर वैज्ञानिकहरुले प्रमाणित गरिसकेका छन्’, गोष्ठी संयोजक हितान भन्छन्, ‘तसर्थ वातावरण संरक्षण, सम्वर्धन र सुधारमा साहित्यकारहरुको पनि प्रमुख भूमिका हुन्छ भन्ने जनचेतना फैलाउन यो कार्यक्रम गरिँदै आएको छ ।’

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा यस वर्ष काठमाडौंमा आयोजना गरिने तय भएको गोष्ठी कोरोना महामारीका कारण स्थगित भएपछि अन्ततः भर्चुअल रुपमा गर्न लागिएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू