शनिबार, वैशाख ८, २०८१
08:35 | १३:२०

नेपालमा ५९ जिल्लाका १८ सय ११ जनामा संक्रमण

एकैदिन थपिए २ सय ३९

रासस जुन १, २०२०

काठमाडौं । नेपालमा काोभिड–१९ को संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । गत माघ ९ गते पहिलो पटक वुहानबाट आएका एक युवामा संक्रमण देखिएसँगै अहिले संक्रमित एक हजार ८ सय नाघेका छन् ।

सोमबार मात्र विभिन्न ठाउँमा गरिएको परीक्षणमा एकै दिन २ सय ३९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सोमबार डोटीमा पहिलो पटक संक्रमण देखिएको छ । डोटीमा संक्रमण देखिएसँगै ५९ जिल्लामा देखिएको हो । अब संक्रमण नदेखिएका जिल्ला जम्मा १८ छन् । नयां संक्रमितमध्ये पुरुष २२६ जना र महिला १३ जना छन् । यसंसँगै देशभरमा कुल संक्रमित एक हजार ८ सय ११ पुगेका छन् ।

एक दिनको अवधिमा भेटिएका संक्रमितको यमो संख्या आजसम्मकै सबैभन्दा बढी हो । यसअघि आइतबार १ सय ६६ जना, शनिबार १ सय ८९ जना र शुक्रबार १ सय ७० जनामा संक्रमण देखिएको थियो ।

नयाँ संक्रमितमध्ये कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झापा बाह्रदशीका ३२ र ४६ वर्षका पुरुष संक्रमित देखिएका छन् । पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा नवलपुर कावासोतीका २२ र ३६ वर्षीय पुरुष र नवलपुर विनात्रिवेणीका १४ वर्षीया बालक संक्रमित भेटिएका हुन् ।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४३ जनामा संक्रमण देखिएको छ । सुर्खेत अस्पताल र पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ३२ जनामा संक्रमण देखिएको छ ।

यस्तै धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा २० जनामा संक्रमण देखिएको छ । भेरी प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सात जना तथा राप्ति अस्पताल दाङमा गरिएको परीक्षणमा नौ जनामा संक्रमण देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ९२ जनामा संक्रमण देखिएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा १८ जनामा संक्रमण देखिएको छ ।

अहिलेसम्म प्रदेश नं. २ मा सबैभन्दा बढी ६ सय ९४ जनामा संक्रमण देखिएको छ । यस्तै प्रदेश नं. १ का नौ जिल्लामा १ सय ६८ जना, वागमती प्रदेशमा ४६ जना, गण्डकी प्रदेशका ६ जिल्लाका २६ जनामा, प्रदेश नं ५ को १० जिल्लाका ६ सय २२ जना, कर्णाली प्रदेशका पाँच जिल्लामा १ सय ९८ जना र सुदूरपश्चिम प्रदेशमा सबै जिल्लामा ४५ जनामा संक्रमण देखिएको छ ।

पत्रकार सम्मेलनमा हालै मृत्यु भएका काठमाडौँका एक जना र डडेल्धुराका ६ वर्षीय बालकमा संक्रमण नदेखिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू