शुक्रबार, वैशाख ७, २०८१
13:28 | १८:१३

सोती घटना: छानबिन समितिद्वारा काम शुरु

रासस मे २९, २०२०

बेपत्ताको खोजी गरिदै

जाजरकोट । सोती घटनाका बारेमा छानबिन गर्न गठित उच्चस्तरीय समितिले आफ्नो काम शुरु गरेको छ । 

समितिले पीडित पक्षसँग भेटघाट गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए  ।

त्यस्तै, समितिले भेरी नगरपालिका–४ का सञ्जु भनिने सञ्जीव विकको शव स्वास्थ्य सेवा कार्यालयमा पुगेर अध्ययन गरेको छ ।  सरकारले गृह मन्त्रालयका सहसचिव जीतेन्द्र बस्नेतको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । 

समितिले बिहीबारदेखि यहाँ आएर काम थालेको हो । उक्त घटनामा जाजरकोट भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विक, सञ्जु विक, गणेश बुढा, भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनारको शव यसअघि नै फेला परिसकेको छ  । भेरी नगरपालिका–११ का गोविन्द शाही अझै बेपत्ता छन् ।

समितिलाई दलित अधिकारकर्मी संघ र संगठनले निष्पक्ष छानबिन गर्न माग गर्दै छ बुँदे ज्ञापनपत्र बुझाएको अधिकारकर्मी पार्वती विकले बताइन् । ज्ञापनपत्र बुझ्दै संयोजक बस्नेतले सरकारले दिएको कार्यादेशका आधारमा काम हुने बताए । उनले तोकिएको समयमा निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनेसमेत बताए ।

गृहमन्त्री रामबहादुर थापा र वनमन्त्री शक्तिबहादुर बस्नेतले मृतकप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै बेपत्ताको खोजीकार्य जारी रहेको सन्देश पठाएको समेत संयोजक बस्नेतले जानकारी दिए । मृतकको शव हेरेर मात्र अनुसन्धान गर्नुपर्ने पीडित परिवारको मागअनुसार अनुसन्धान थालिएको उनको भनाइ छ ।

शुक्रबार नै छानबिन समितिको टोली रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीमा जाने प्रजिअ पन्तले  जानकारी दिए । सो समितिमा गृह मन्त्रालयका सहसचिव बस्नेत, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक ओमबहादुर खड्का, उपसचिव वशिष्ट घिमिरे र उपसचिव माधव ढकाल छन् ।  

यही जेठ १० गते चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनापछि नवराज विक, टीकाराम सुनार, गणेश बुढामगर, लोकेन्द्र सुनार र सञ्जु विकको शव भेरी नदीका विभिन्न स्थानमा फेला परेको छ । अझै बेपत्ता गणेश शाहीको खोजीकार्य जारी छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू