मंगलबार, चैत ६, २०८०
02:35 | ०८:२०

नेपालमा १ सय ८३ जनाले जिते कोरोना

रासस मे २७, २०२०

काठमाडौँ । हालसम्म नेपालमा कूल १ सय ८३ जनाले कोरोनाको संक्रमण जितेर निको भएका छन् । विभिन्न अस्पतालको ‘आइसोलेसन’मा उपचाररत उनीहरु कोरोनामुक्त भएर ‘डिस्चार्ज’ भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म १ सय ४२ पुरुष र ४१ महिला अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । पछिल्लो समयमात्रै थप २८ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

डिस्चार्ज हुनेमा सबैन्दा बढी प्रदेश नं २ का ९७ जना छन् । यस्तै प्रदेश नं १ का ३०, वागमती प्रदेशका ११, गण्डकी प्रदेशका दुई, प्रदेश नं ५ का ३८ र सुदूरपश्चिम प्रदेशका पाँच जना छन् ।

पछिल्लो २४ घण्टामा देशको विभिन्न प्रयोगशालामा ‘पिसिआर’ विधिमार्फत तीन हजार ५ सय ८० नमूना परीक्षण गरिएको छ । त्यस्तै, २४ घन्टामै ‘आरडिटी’ विधिमार्फत दुई हजार ३ सय २० नमूना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

सरकारले हालसम्म पिसिआर विधिमार्फत ५८ हजार २ सय ७७ र आरडिटी विधिद्वारा एक लाख २ सय ८७ जनाको परीक्षण गरेको छ । देशभर बनाइएको क्वारेन्टिनमा रहने हालसम्म ७० हजार ३ सय ५ जना छन् ।

विभिन्न अस्पतालको आइसोलेनसमा ६ सय ९९ जनाको उपचार भइरहेको छ । हालसम्म कोरोनाका कारण चार जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू