मंगलबार, मंसिर १६, २०७७
05:20 | ११:०५

अञ्जनाको प्रेरणादायी अभियान-मास्क सिलाउंदै वृद्धवृद्धालाई दिंदै

नेपाली लिङ्क मे २४, २०२०

लन्डन । सर्वव्यापी फैलिएको महामारी कोरोना कहरका कारण अहिले लकडाउनको समय छ । अनिवार्य जानैपर्ने दैनिक रोजगार र उपभोगजन्य समान खरिद विक्री बाहेक अधिकांश मानिसहरु घरभित्र नै सामाजिक सञ्जालको दूरी कायम गर्दै बसेका छन् ।

लकडाउनका बेला दिनहुं देख्न सकिन्छ सामाजिक 
सञ्जालमा रमाइला रमाइला ‘टिक टक’ । इस्टाग्राम, फेसबुक पोष्ट लगायत साहित्य संगीत । जुम बैठक संगसंगै मानिसहरु पारिलो घामको आनन्द लिंदै बेलायतको वसन्त ऋतुको मज्जा लिइरहेको । सामाजिक सञ्जालमा विभिन्न पोष्टहरुको यो अत्यन्तै व्यस्त भिडमा पश्चिम लन्डनस्थित 
हिलिङडनमा बसोबास गर्दै आइरहेकी सामाजिक अभियन्ता अञ्जना गुरुङ तामाङलाई भने विभिन्न क्रियटिभ कार्य गर्दैमा यतिखेर भ्याइनभ्याइ छ । 
उनलाई घरधन्दा सकेर हतार हुन्छ सानो हाते मेसिन लिएर ‘मास्क’ सिलाउन ।

यी मास्कहरु बनाएर प्राप्ति के त ? अञ्जना मुस्कुराउंदै भन्छिन्- ‘आत्मसन्तुष्टि’ । उनी अगाडि थप्छिन्, ‘यो लकडाउनको समय धेरै गोर्खा आमा बाबाहरु बाहिर जान सक्नुहुन्न । त्यति मात्रै कहां हो र ? मास्क पनि किन्न महंगो पर्छ अनि सोचें किन आफैं मास्कहरु बनाएर उहांहरुलाई सहयोग नगर्ने ?’ ‘क्लिनिकल मास्क’ जस्तो प्रभावकारी नहुन सक्छ तर आवश्यक परेको यो अवस्थामा अत्यन्तै काम लागेको उनी बताउंछिन् । अनि यी मास्कहरु असक्त ति गोर्खा आमा बाबाहरुले कसरी पाउनु हुन्छ त ? मेरो जिज्ञासामा अञ्जना उत्साहित हुंदै सुनाउंछिन् ‘यता वरिपरि हुनु भएकालाई मैले घरको ढोका ढोकामा लगेर छोडिदिन्छु । अनि अलिक टाढा हुनु भएकाहरुलाई पनि समय मिलाएर डेलिभरी गर्दै आएकी छु ।’

लकडाउनको खाली समयको सदुपयोग भन्दा पनि कोरोना कहरले सबैलाई आक्रान्त पारेको अवस्थामा विशेषतः एक्लै रहंदै आएका गोर्खा आमा बाबाहरुलाई सहयोग गर्दा उनलाई अत्यन्तै आत्मसन्तुष्टि प्राप्त हुन्छ रे । यी कुरा मलाई भनिरहंदा उनको मुहारमा त्यो चमक स्पष्ट झल्किएको देखिन्थ्यो ।

सामाजिक अभियन्ता अञ्जनाको समुदायप्रति निस्वार्थ सेवाभावको यो एउटा झलक मात्रै हो । प्रवासमा रहेर पनि स्वदेशका विभिन्न सामाजिक कार्यमा निरन्तर उनले पुरयाएको योगदानको कदर गर्दै गत फागुनमा काठमाडौंमा नेपाल एकता समाजद्वारा ‘राष्ट्रिय नारी समान २०७६’ द्वारा उनलाई सम्मान गरिएको थियो ।

उनै अञ्जना, हाल भ्याइनभ्याई मास्क सिलाएर बेलायतस्थित गोर्खा आमा बाबाहरुलाई निशुल्क वितरण गर्न व्यस्त छिन् । उता नेपालस्थित संस्था ‘दृष्टि नेपाल’ को आपतकालीन फन्डका लागि गरिएको अपिलका लागि पनि धमाधम मास्क बनाएर सहयोग संकलनका लागि लागिपरेकी छिन् उनी । न केवल समय, परिश्रम अपितु आफ्नै खर्चमा उनले तयार पारेका यी मास्कहरु उनले बसोबास गर्ने इलाकाबाहेक अन्य ठाउंका आवश्यक परेकालाई चाहिएमा उनले हुलाकद्वारा पनि पठाउन सकिने जानकारी दिइन् ।

कोरोना महामारीले जारी लकडाउनका बेला कयौंले घर बस्दा बस्दा बोर भयो भनिरहेको अथवा मानसिक र शारीरिक अवस्थाको तालमेल नमिलिरहेको भन्ने गुनासो सुनिन्छ । यस्तो अवस्थमा घरभित्र रहेर आफूले जानेको कला एवं सिपको सदुपयोग 
गर्दै समाजका लागि केही सहयोग गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण दिएकी छिन् अञ्जनाले ।

हिंड्दा ठेस लाग्छ, बाटामा कांडाहरु हुन्छन् । त्यही कांडामाझ सुन्दर फूलहरु पनि भेटिन्छन् । अञ्जनालाई मैले आज त्यही सुन्दर फूलको प्रतिबिम्ब देखें ।

टुंग्याउनु अघि, मजरूह सुलतानपुरीको हरफ यहां नेपालीमा रुपान्तर गरें-

‘यात्रामा म एक्लै हिंडेको थिएँ जानिब-ए-मन्जिल !

मानिसहरु थपिंदै गए…सवारी बन्दै गयो…’

प्रिय अञ्जना, सामाजिक अभियानमा तपाईंको यात्रा निरन्तर अघि बढिरहोस् । यी निस्वार्थ सेवाभाव अन्य धेरैका लागि प्रेरणा बनुन् ।

अन्ततः अञ्जना-ए-मन्जिल ! सवारी बन्दै जानेछ । अनेक शुभकामना ।
लारा
मणि निवास
बालुवाटार, काठमाडौं
२४ मे, २०२०

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू