आइतबार, ५ अप्रिल, २०२६
20:31 | ०१:१६

बेलायतबाट फर्किएका डा नारायणदत्त कंडेल महान्यायाधिवक्ता नियुक्त

नेपाली लिङ्क अप्रिल ५, २०२६

लन्डन– लामो समय बेलायतमा बसेर फर्किएका अधिवक्ता डा. नारायणदत्त कंडेल नेपाल सरकारको महान्यायाधिवक्तामा नियुक्त भएका छन् ।

मन्त्रिपरिषदको आज दिउँसो बसेको बैठकले कंडेललाई नियुक्तिका लागि सिफारिस गरेलगत्तै राष्ट्रपति पौडेलले संविधानको धारा १५७, उपधारा (२) बमोजिम बागलुङ निवासी कँडेललाई सो पदमा नियुक्त गरेका हुन् । कंडेलले अब नेपाल सरकारको प्रमुख कानूनी सल्लाहकारका रुपमा आफ्नो जिम्मेवारी निर्वाह गर्नेछन् ।

बेलायतको नर्दन आयरल्याण्डमा लामो समयसम्म परिवारसहित बसेका उनले बेलायतकै क्वीन्स विश्वविद्यालयबाट कानूनमा विद्यावारिधि गरेका छन् ।

बेलायतमा रहंदा उनी व्यवसायका साथै सामाजिक संघसंस्था र अभियानहरुमा पनि सक्रिय रहंदै आएका थिए ।

गैरआवासीय नेपाली अभियानमा समेत सक्रिय डा कंडेल एनआरएनए यूकेका पूर्व उपाध्यक्ष पनि हुन् । उनले एनआरएनए वृत्तमा कानून र विधानका ज्ञाता तथा सशक्त तर्कसहित बोल्न सक्ने प्रखर वक्ताको छवी बनाएका थिए ।

बाग्लुङको बिहुंमा जन्मिएका कंडेलले बेलायत आउनुअघि नेपालमै कानूनमा स्नातक गरेका थिए । वि.सं २०६० सालदेखि नै उनले अधिवक्ताका रुपमा कानूनी अभ्यास समेत गरिसकेका थिए ।

लामो समय बेलायतमै बसेर, अध्ययन गरेर नेपाल फर्किएका डा कंडेल नेपाल सरकारको प्रमुख कानूनी सल्लाहकार रहने महान्यायाधिवक्ताजस्तो महत्वपूर्ण जिम्मेवारीमा नियुक्त भएका छन् ।

आफैं गैरआवासीय नेपालीका रुपमा लामो समय विदेश बसेका, यो अभियानलाई बुझेका र गैरआवासीय नेपालीको नागरिकता निरन्तरताको पक्षमा वकालत गर्दै आएका कंडेल सरकारको प्रमुख कानूनी सल्लाहकारको भूमिकामा पुग्दा गैरआवासीय नेपालीहरुको नागरिकता निरन्तरतासहितका मुद्धाहरु सम्बोधनका लागि समेत सहयोग पुग्ने आशा लिइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू