हेल्प नेपाल नेटवर्कको सहयोगार्थ लन्डन म्याराथनमा सचिन


लन्डन – नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन मानवीय सहायताको क्षेत्रमा काम गर्दै आएको कल्याणकारी संस्था हेल्प नेपाल नेटवर्कको सहयोगार्थ नेटवर्कका अध्यक्ष सचिन श्रेष्ठ आफैं लन्डन म्याराथनमा दौडन लागेका छन्।
२६ अप्रिल २०२६ मा हुन गइरहेको लन्डन म्याराथन संसारकै प्रतिष्ठित म्याराथन मानिन्छ। चिट्ठा प्रणाली अन्तर्गत उनले म्याराथनमा भाग लिन स्थान प्राप्त गरेका थिए।
हेल्प नेपाल नेटवर्कले धुलिखेलमा संचालन गरिरहेको बाल गृह तथा मुगु मुर्मामा संचालन गरिरहेको हेल्थ पोस्टको सहयोगार्थ आफुले म्याराथनमा भाग लिन लागेको श्रेष्ठले बताए। यो लिंकमा गएर सक्दो सहयोग गर्न नेटवर्कले आग्रह गरेको छ।
सन् १९९९ मा बेलायतमा स्थापित नेटवर्कका झन्डै एक दर्जन मुलुकमा शाखा छन् भने नेपालमा केन्द्रीय कार्यालय छ ।
‘मातृभूमिका लागि महिनामा एक पाउण्ड’ भन्ने नारासहित सन् १९९९ मा बेलायतबाट हेल्प नेपाल नेटवर्कको स्थापना गरिएको थियो ।
नेटवर्कले नेपालका एक सय बढी स्कुलमा कक्षा कोठा निर्माण तथा झन्डै ५० वटा इ–लाइब्रेरी स्थापना गर्नुकासाथै सिन्धुपाल्चोक, दोलखालगायतका जिल्लाहरूमा भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवनहरूको पुनर्निर्माणमा पनि सघाएको छ ।
नेटवर्कले सन् २००४ मा विकट मुगु जिल्लाको मुर्मामा स्थापना गरेको हेल्प नेपाल हेल्थ पोष्टले स्थानीय समुदाय तथा पदयात्रीहरूलाई गएको २० वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
त्यस्तै सन् २०१४ देखि धुलिखेलमा संचालित हेल्प नेपाल बालगृहमा कमजोर आर्थिक पृष्ठभूमिका २३ जना बालिका पठनपाठन गरिरहेका छन् ।
सन् २०१५ को महाभूकम्प, जाजरकोट भूकम्प तथा देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा आगलागी पीडितहरूलाई पनि नेटवर्कले मानवीय सहायता पुरयाउँदै आएको छ ।


