मंगलबार, ७ अप्रिल, २०२६
18:07 | २२:५२

प्रवासी नेपाली मञ्च यूकेले प्रधानमन्त्री वालेनलाई पठायो ९ बुंदे ज्ञापन

नेपाली लिङ्क अप्रिल ७, २०२६

लन्डन- नेकपा एमालेनिकट प्रवासी नेपाली सम्पर्क मञ्च यूकेले लन्डनस्थित नेपाली दूतावासमार्फत् नवनिर्वाचित प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) लाई एक ज्ञापनपत्र बुझाएको छ।

मंगलबार दिउंसो अध्यक्ष पशुपति पोखरेलको नेतृत्वमा दूतावास पुगेको मञ्चको टोलीले कार्यवाहक राजदूत विपिन दुवाडीलाई ९ बुंदे ज्ञापन बुझाएको हो।

ज्ञापनपत्र बुझ्दै कार्यवाहक राजदूत दुवाडीले यथासक्य चाँडो सम्बन्धित निकायसम्म पुरयाइदिने आश्वासन दिएको मञ्च अध्यक्ष पोखरेलले जानकारी दिए।

ज्ञापनपत्रमा दुई तिहाई बहुमतसहित प्रधानमन्त्रीमा निर्वाचित भएकोमा प्रधानमन्त्रीलाई बधाई दिंदै नेपाली जनताको अपेक्षाअनुरुप देशलाई स्थायित्व, सुशासन तथा समृद्धिको मार्गमा अगाडि बढाउने विश्वास व्यक्त गरिएको छ।

मञ्चले नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री के.पी. शर्मा ओली र पूर्व गृहमन्त्री लगायतका राजनीतिक व्यक्तिहरूलाई पूर्वाग्रही रूपमा गिरफ्तार गरिएको भन्दै तत्काल रिहा गर्न माग गरेको छ।

‘विधिको शासनको खिल्ली उडाउने यस्ता गतिविधि तुरुन्त बन्द गरी राजनीतिक नेताहरूलाई तत्काल रिहा गरियोस् भन्ने हाम्रो जोडदार माग छ। अर्कोतर्फ, काकी आयोगले नै दोषी ठहर गरेका अन्य व्यक्तिहरूप्रति सरकार मौन रहनु यस सरकारको नियत झनै उजागर भएको देखिन्छ’, वक्तव्यमा छ।

साथै, जाँचबुझ आयोगको प्रतिवेदन निष्पक्ष नभएको र यसले संविधानको मर्मलाई कुल्चिएको दाबी गर्दै सामाजिक सञ्जालमा बढ्दै गएको अमर्यादित र असभ्य अभिव्यक्तिलाई नियन्त्रण गर्न समेत सरकारको ध्यानाकर्षण गराइएको छ।

लोकतान्त्रिक प्रणालीमा पेशागत तथा विद्यार्थी संगठनहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै मञ्चले उनीहरूमाथि लगाइएको प्रतिबन्ध तत्काल फिर्ता लिन आग्रह गरेको छ।

लोकतन्त्रका लागि लामो संघर्ष गरेका शक्तिहरूलाई कमजोर पार्ने प्रयासले मुलुकको हित नहुने मञ्चको ठहर छ। यसका साथै, प्रवासी नेपालीहरूका दीर्घकालीन समस्याहरू जस्तै– गैरआवासीय नागरिकताको प्रभावकारी कार्यान्वयन, वंशजको नागरिकताको निरन्तरता, गोर्खा सैनिकहरूको समान पेन्सन सुविधा, विदेशबाटै मतदान गर्न पाउने व्यवस्था र प्रवासी नेपालीको सम्पत्तिको सुरक्षा जस्ता विषयहरूलाई तत्काल सम्बोधन गर्न सरकारलाई दबाब दिइएको छ। मञ्चले नेपाल सरकारलाई संविधानको परिधिभित्र रही अन्तर्राष्ट्रिय मान्यताहरूको सम्मान गर्दै निष्पक्ष रूपमा देश विकासमा केन्द्रित हुन विशेष आग्रह गरेको छ।

वक्तव्यमा मञ्चले रास्वपाले चुनावी घोषणापत्रमा उल्लेख गरेअनुसार गैरआवासीय नागरिकताको कार्यान्वयन, वंशज नागरिकताको निरन्तरता, गोर्खा सैनिकहरूको समान पेन्सन, विदेशबाटै मतदान गर्ने व्यवस्था तथा गैरआवासीय नेपालीहरूको सम्पत्तिको सुरक्षा सम्बन्धी मागहरू तुरुन्त कार्यान्वयन गर्न जोडदार माग पनि गरेको छ।

हेरौं ज्ञापनपत्र:

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू