२४औं गोर्खाकपमा दर्ता खोलेको केही दिनमै पूरा भए मुख्य र भेटेरान विधाका टीम



तमुधिं यूके भवनमा केही साताअघि बसेको २४औं गोर्खाकप तयारी बैठक
लन्डन- तमुधिं यूकेको आयोजनामा आगामी मे २४ तारिख अल्डरसटस्थित क्वीन्स एभिन्यूमा संचालन हुने २४ औं गोर्खाकपमा भाग लिन उत्साहजनक रुपमा टीम दर्ता भएको छ।
गत आइतबार मध्यान्हदेखि मात्रै खुला भएको टीम दर्ता प्रक्रिया मुख्य र भेटेरान दुवै विधामा आवश्यक टीम पूरा भएपछि बन्द गरिएको छ।
तमुधिं यूके मिडिया सेक्रेटरी एसके गुरुङले मुख्य विधामा ३२ र भेटेरान विधामा १६ गरि सबै स्थानमा टीम दर्ता पूरा भएको जानकारी दिए।
मे पहिलो सातासम्मको लागि टीम दर्ता खुला गरिएको भएपनि आवश्यक टीम दर्ता भइसकेपछि दर्ता बन्द गर्नुपरेको हो।
४ टीम खेलाइने महिला विधा भने शुक्रबारसम्म पूरा भइसकेको छैन।
गत आइतबारदेखि नै खुला गरिएको स्टल दर्ता पनि जारी छ। यसपटक गोर्खाकपमा खाना (रेष्टुरेन्ट), व्यापारिक तथा सामुदायिक गरी १ सय १० हाराहारीमा स्टलहरू रहनेछन्।जसमध्ये खानाका लागि आवश्यक संख्याका स्टल बुक भइसकेको छ भने अन्य बुकिङ जारी छ।
यस वर्षको गोर्खाकपलाई अघिल्ला संस्करणभन्दा पनि अझ भव्य र उत्कृष्ट बनाउने योजनाअनुसार तयारी अगाडि बढाइएको गोर्खाकप संयोजक तथा तमुधिं यूके स्पोर्ट्स सेक्रेटरी क्या. दीपक घले बताउँछन्।
संस्थाका अध्यक्ष जुम्काजी गुरुङले पनि विगतमा प्राप्त सबै प्रतिक्रिया तथा सल्लाह, सुझावलाई ध्यानमा राख्दै व्यवस्थापन थप चुस्त पारिने बताएका छन्।
बेलायतको सबैभन्दा ठूलो नेपाली इभेन्ट ‘गोर्खाकप’ को गत वर्षको संस्करणमा त्यसबेलासम्मकै धेरै करिब १७ हजार दर्शकको उपस्थिति थियो। यसपटक उक्त संख्या झन् बढेर २० हजारभन्दा बढी पुग्ने अपेक्षा गरिएको छ ।
गोर्खाकपमा यसपटक सबै विधा तथा स्थानका लागि पुरस्कार राशी पनि बढाइएको छ। मुख्य विधाका विजेताको पुरस्कार राशी ३५ सय पाउण्ड पुर्याइएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


