बुधबार, वैशाख १२, २०८१
16:31 | २१:१६

नेपालमा कोरोना जित्नेहरु ७० पुगे, तीन दिनमै ३३ संक्रमित घर फर्किए

शुक्रबार नेपालगञ्जका २१ संक्रमित डिस्चार्ज

रासस मे २२, २०२०

शुक्रबार नेपालगञ्जका २१ जना संक्रमित एकैपटक डिस्चार्ज भएर घर फर्किएका छन् ।

काठमाडौँ । नेपालमा कोभिड-१९ संक्रमणबाट निको भई अस्पतालबाट घर फर्किनेको संख्यामा वृद्धि भइरहेको छ । पछिल्लो तीन दिनमा ३३ जना संक्रमित स्वस्थ भई घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।

उनका अनुसार शुक्रबार मात्र नेपालगञ्जका २१ जना बिरामी एकैपटक संक्रमणबाट निको भई घर फर्किएका छन् । एकैपटक स्वस्थ भई फर्कनेमध्येको यो नै अहिलेसममको ठूलो संख्या हो । बुधबार कोशी अस्पतालबाट आठ र बिहीबार काठमाडौँबाट चारजना कोरोनालाई पराजित गर्दै घर फर्किएका थिए । अहिलेसम्म ७० जना बिरामी पूर्णरुपमा निको भई घर फर्किसकेको सहप्रवक्ता डा अधिकारीले बताए । उनका अनुसार संक्रमितको अस्पताल बसाइ औसत २० दिन ८ घण्टा छ ।

बाँके खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्रदेश सरकारले स्थापना गरेको कोरोना विशेष आइसोलेशन अस्पतालमा उपचारपश्चात् घर फर्किएकामध्ये नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो संक्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना छन् ।

बिहीबार काठमाडौँकी ३३ वर्षीया महिला, पर्साका ३७ वर्षीय पुरुष, भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीया पुरुष टेकुस्थित शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट नौ दिनमा घर फर्किएका थिए ।

बुधबार कोशी अस्पतालमा उपचार गराइरहेका उदयपुरका आठजना घर फर्किएका थिए । चीनको वुहानबाट आएका पहिलो संक्रमित २२ दिन अस्पतालमा उपचार गराएर निको भएका थिए । गत माघ ९ गते संक्रमण देखिएका उनी गत फागुन ३ गते घर फर्किएका थिए ।

यसैगरी दोस्रो संक्रमित काठमाडौँकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठ २७ दिन उपचारपश्चात् घर फर्किएकी हुन् । गत चैत १० गते संक्रमण देखिएकी उनीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भएको थियो ।

अस्पतालका निर्देशक डा सागरराज भण्डारी संक्रमितहरुलाई दुई अवस्थामा पूर्णरुपमा स्वस्थ भएको ठानेर घर फर्काइने बताउँछन् । उनका अनुसार पहिलो ४८ घण्टामा दुईपटक कोभिड-१९ नेगेटिभ रिपोर्ट आएपछि र अर्को क्लिनिकल रुपमा संक्रमितमा कुनै समस्या नभएपछि ।

‘संक्रमण देखिएपछि अरुलाई नसरोस् भनेर संक्रमितलाई आइसोलेसनमा राखिन्छ’, उनले भने, ‘कोभिड-१९ को रिपोर्ट नेगेटिभ आएपछि संक्रमित पूर्णरुपमा स्वस्थ भएको हुन्छ ।’

उनका अनुसार खोकी, श्वासप्रश्वासमा समस्या, ज्वरो, थकान, पेट दुख्नेजस्ता समस्या पूर्णरुपमा निको भएका संक्रमितको कोभिड–१९ परीक्षणको नेगेटिभ रिपोर्ट आएपछि मात्र घर फर्काइन्छ ।

घर फर्किएपछि पनि उनीहरुमा फेरि पनि संक्रमण बल्झिने खतरा भएकाले घरमा एक्लै बस्नुपर्ने हुन्छ । पूर्णरुपमा निको भई घर फर्किएपछि १४ दिनमा पुनः कोभिड-१९ परीक्षण गरिने निर्देशक भण्डारीले बताए ।

‘अहिलेसम्म हामीले बिरामीको लक्षणका आधारमा औषधि चलाएका छौँ । गम्भीर औषधि चलाउनुपरेको छैन’, उनले भने, ‘ज्वरो, रुघाखोकी, पेट दुख्ने जस्ता समस्या भएका संक्रमित सामान्य प्रकारको औषधिबाट निको भएका छन् ।’

हालसम्म देशभर ५ सय ७ जनामा कोभिड-१९ संक्रमण देखिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू