बुधबार, वैशाख १२, २०८१
05:07 | ०९:५२

वेल्फेयर सोसाइटी यूकेबाट तेस्रो चरणमा ४० परिवारलाई राहत

नेपाली लिङ्क मे १९, २०२०

लण्डन । बेलायतस्थित ‘नेपाली वेल्फेयर सोसाइटी यूके’ ले मंगलबार नेपालमा थप ४० परिवारलाई राहत वितरण गरेको छ । स्यांग्जा जिल्लाको पुतलीबजार नगरपालिका ७ का विपन्न वर्गका ती परिवारलाई सोसाइटीले राहतस्वरुप खाद्यान्न वितरण गरेको हो ।

सोसाइटीका अध्यक्ष धनबहादुर सार्कीका अनुसार राहतस्वरुप हरेक परिवारलाई १ महिनाको लागि पुग्ने गरी चामल, तेल, दाल सहितको खाद्यान्न बाँडिएको हो ।

स्थानीय पुतलीबजार नगरपालिका ७ का वडाध्यक्ष विश्वेश्वर रेग्मी र सिफारिशकर्ता रञ्जु सुन्दासले राहत खाद्यान्न वितरण गरेका थिए ।

राहत वितरणका बेला अनलाइन भिडियो कन्फरेन्समार्फत सोसाइटीका अध्यक्ष धनबहादुर सार्की, सचिव शमसेर नेपाली र वरिष्ठ सल्लाहकार गोपाल रोका पनि सहभागी भएका थिए ।

त्यस्तै, बेलायतबाट एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ, सचिव जीत रानाभाट र पत्रकार महासंघ यूके अध्यक्ष नरेश खपांगी तथा नेपालबाट उपेक्षित, उत्पीडित र दलितवर्ग उत्थान समितिका कार्यकारी निर्देशक डा बुद्धि नेपालीको पनि सहभागिता थियो ।

केहि महिनाअघि मात्रै स्थापित सोसाइटीले कोरोना महामारी शुरु भएपछि यसअघि दुई चरणमा नेपालमा राहत वितरण गरिसकेको छ ।

नेपाल कोरोना संक्रमणको केन्द्र बनेको उदयपुर त्रियुगा नगरपालिकाको भुल्केका २० परिवार र चितवनको भरतपुर नगरपालिका २३ का २० परिवारलाई सोसाइटीले राहत बाँडेको थियो ।

सोसाइटी अध्यक्ष सार्कीले नेपालस्थित संस्थाका फोकल पर्सन, स्थानीय प्रशासन लगायतको सिफारिसमा आवश्यकतामा परेकाहरुको पहिचान गरी राहत बाँडिदै आएको बताएका छन् । आर्थिक रुपमा विपन्न, महामारीका कारण काम गुमाएका मजदुर, असहाय लगायत दलित तथा गैरदलित दुवै समुदायलाई राहत दिइएको उनको भनाइ छ ।

अध्यक्ष सार्कीले बेलायतमा कोष संकलनका साथसाथै नेपालमा सहयोग वितरणको कार्यलाई पनि जारी राखिने बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू