शुक्रबार, वैशाख १४, २०८१
00:31 | ०५:१६

कोरोनाको उच्च जोखिममा प्रदेश नं २

रासस मे १३, २०२०

जनकपुरधाम । प्रदेश नं २ कोरोना भाइरस संक्रमणको उच्च जोखिममा देखिएको छ ।

भारतबाट लुकीछिपी प्रवेश गर्ने र कतिपय क्वारेन्टाइनमा नबसी आफ्नो घरमा बस्ने गरेकाले यो प्रदेश उच्च जोखिममा देखिएको हो । भारतमा अहिले पनि लकडाउन जारी छ ।

तर, मजदुरलाई गन्तव्यमा पुर्याउनका लागि रेलसेवा सञ्चालनमा ल्याएको छ । कोरोनाबाट अतिसंक्रमित दिल्ली, मुम्बईलगायत ठूला शहरबाट रेलसेवा शुरु भएपछि त्यहाँ बसेका नेपाली कामदार र विद्यार्थी पनि फर्कने छन् । उनीहरुसँग कोरोना संक्रमित व्यक्ति पनि भित्रिने सम्भावना प्रवल रहेकाले प्रदेश नं २ कोरोनाको थप जोखिममा देखिएको हो ।

यस प्रदेशमा मंगललबारसम्म ९५ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ । सबैभन्दा बढी पर्सामा ७९ जना कोरोना संक्रमित छन् । रौतहट र बारामा तीन-तीनजना, धनुषा, सर्लाही र महोत्तरीमा दुई-दुई तथा सप्तरीमा एकजना कोरोना संक्रमित फेला परेका छन् ।

भारतबाट ठूलो संख्यामा मानिस अनाधिकृतरुपमा भित्रिएको खण्डमा सोको पहिचान गरी क्वारेन्टाइन गर्ने कार्य चुनौतीपूर्ण हुने भएकाले यसतर्फ सीमावर्ती जिल्लाका बासिन्दा थप सजग हुनुपर्ने देखिएको छ । यस प्रदेशको आठवटै जिल्लाको सिमाना भारतसँग जोडिएको छ । भारतबाट प्रवेश गर्ने १ सय ९ वटा प्रवेशमार्गबाट आवतजावत पूर्णरुपले बन्द गरिएको छ ।

सिमानामा सशस्त्र प्रहरीलगायतका सुरक्षाबल अहोरात्र खटिरहेका छन् । तर, पनि खुल्ला सिमानाको गलत फाइदा उठाइ कतिपय व्यक्ति भित्रिने गरिएका कारण यस प्रदेशका बासिन्दा चिन्तित बनेका छन् ।

सिमानाको नजिकमा रहेका नेपाली बस्तीका बासिन्दाले सक्रिय भएर अपरिचित व्यक्तिको आवतजावतमा पूर्णरुपमा रोक्न अग्रसर हुनुपर्ने देखिएको छ । खासगरी रातिको समयमा सजग हुनुपर्ने आवश्यकता रहेको र सिमानामा खटिएका सुरक्षाकर्मीसँग मिलेर पहरेदारी गर्नुपर्नेमा यस प्रदेशका बासिन्दाले जोड दिएका छन् ।

यस सम्बन्धमा सप्तरीको सीमावर्ती तिलाठी–कोइलाडी गाउँपालिका–३ का वडाध्यक्ष मनोजकुमार चौधरीले अहिले सिमानामा कडा सुरक्षा व्यवस्थाका कारण मानिसको आवतजावत पूर्णरुपले बन्द रहेकपनि भारतमा रेलसेवा सञ्चालनमा आएपछि भित्रिने सम्भावनातर्फ सचेत रहेको बताए । आवश्यक परे समूह गठन गरेर पहरेदारी गर्ने उनको भनाइ छ ।

जनकपुरधामका राम युवा कमिटीका पूर्वअध्यक्ष प्रमोदकुमार चौधरीले कोरोना महामारी बच्न र आफ्नो रक्षाका लागि स्थानीयवासीलाई एक्यबद्ध हुनुपर्ने र ग्रामीण क्षेत्रमा समूह बनाएर परिचालन गर्नुपर्ने आवश्यकता औँल्याए । अनाधिकृतरुपमा प्रवेश गर्नेहरु नदीनालाको कछार भएर र अनकन्टार ठाउँबाट खासगरी रात्रिको समयलाई बढी उपयोग गर्ने गरेकाले सो क्षेत्रमा बढी सतर्कताका साथै प्रकाशको व्यवस्था गरेर जसरी पनि आवागमनलाई रोक्नुपर्नेमा उनको जोड छ ।

भारतको क्वारेन्टाइनको अवधि पूरा गरी प्रवेश गर्ने र लुकीछिपी भित्रिने गरेका प्रत्येक व्यक्तिलाई क्वारेन्टाइनमा राख्नुपर्ने हुन्छ । यस कार्यका लागि प्रदेश सरकारले सीमावर्ती क्षेत्रमा स्थापना भएका क्वारेन्टाइनको स्तरमा सुधारका साथै क्षमता वृद्धि गर्नका लागि सम्बन्धित पालिकालाई आग्रह गरिएको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले बताए ।

यस प्रदेशमा अहिलेसम्म १७९ वटा क्वारेन्टाइन सञ्चालित छन् । आठवटै जिल्लामा गरी कुल ३ सय २ वटा आइसोलेसन बेड रहेका छन् ।

भारतबाट भित्रिनेको संख्यामा अत्यधिक वृद्धि भएको खण्डमा थप क्वारेन्टाइन बनाउनुपर्ने देखिएको छ । अहिले स्थापित क्वारेन्टाइनमा एक हजार ४ सय ६८ जना र आइसोलेसनमा ४० जना बसेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू