बिहीबार, वैशाख १३, २०८१
18:05 | २२:५०

लकडाउनबारे बेलायत सरकारको मार्गचित्र घोषणा, जुनदेखि स्कुल खोल्ने योजना

लकडाउन खुकुलो पार्ने चरणबद्ध योजना सार्वजनिक

नेपाली लिङ्क मे १०, २०२०

आइतबार विशेष सम्बोधनका क्रममा बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन

लण्डन । बेलायतमा डेढ महिनाभन्दा लामो समयदेखि जारी लकडाउनको दोस्रो चरण घोषणा भएको छ ।

आइतबार साँझ एक विशेष सम्बोधनमार्फत प्रधानमन्त्री  बोरिस जोन्सनले  सरकारको आगामी मार्गचित्र सार्वजनिक गर्दै लकडाउन खुकुलो पार्दै जाने विभिन्न चरणका योजना समेत सुनाएका छन् ।

प्रधानमन्त्रीले घोषणा गरेअनुसार सबभन्दा पहिलो चरण आउँदो सातादेखि लागू हुनेछ । जसअन्तर्गत एकै घरका मानिसहरुलाई पार्कमा बस्ने र समयको कुनै पाबन्दी बिना घरबाहिर व्यायाम गर्नेका साथै सामाजिक दूरी कायम गर्दै गल्फ, टेनिस लगायत खेलमा सहभागी हुने, नदी तथा तालहरुमा पौडी खेल्ने लगायतका गतिविधिमा पनि छुट मिल्नेछ ।

साथै, यहि सातादेखि सरकारले घरबाटै काम गर्न असमर्थ मानिसहरुलाई आवश्यक सतर्कतासहित कार्यस्थलमा जान समेत आव्हान गरेको छ । काममा जाने क्रममा सकेसम्म सार्वजनिक यातायातभन्दा पैदल वा निजी सवारी प्रयोग गर्न प्रधानमन्त्रीले आव्हान गरेका छन् ।

दोस्रो चरणमा छिटोमा आउँदो जुनको शुरुदेखि प्राइमरी स्कुलहरु खुलाउने सरकारको योजना छ । त्यस्तै, सोहि समयदेखि बन्द पसलहरु पनि पुनः सञ्चालनमा ल्याउने आशा प्रधानमन्त्रीले गरेका छन् ।

लकडाउन खुकुलो पार्ने तेस्रो चरण छिटोमा जुलाईमा हुनेछ । जतिबेला ‘हस्पिटालिटी’ क्षेत्रका केहि निश्चित व्यवसाय र अन्य केहि सार्वजनिक स्थानहरु खुलाइने अपेक्षा छ ।

प्रधानमन्त्रीले यी सबै योजना र मिति ‘कन्डिसनल’ (सशर्त) भएको भन्दै कुनै पनि जोखिम सिर्जना भए योजना परिवर्तन हुने स्पष्ट पारे ।

प्रधानमन्त्रीले निकट भविष्यमा हवाई मार्गबाट बेलायत प्रवेश गर्ने सबैलाई अनिवार्य ‘क्वारेन्टिन’ को नियम लागू गर्ने योजना समेत सुनाएका छन् ।

त्यस्तै, आजसम्म सरकारले गर्दै आएको ‘स्टे होम’ (घरमै बस्नुहोस्) को अपील अबदेखि ‘स्टे अलर्ट’ (सतर्क रहनुहोस्) मा परिवर्तन भएको छ ।

सम्बोधनकै क्रममा प्रधानमन्त्रीले सरकारको नयाँ नारा ‘स्टे अलर्ट, कन्ट्रोल भाइरस, सेभ लाइभ्स’ (सतर्क रहनुहोस्, भाइरस नियन्त्रण गर्नुहोस् र जीवन बचाउनुहोस्) पनि सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्रीले कोरोना भाइरस संक्रमणको जोखिम तह देखाउने एक ‘अलर्ट सिस्टम’ घोषणा समेत गरेका छन् । जसले विभिन्न ५ तहमा देशका विभिन्न क्षेत्रमा क्षेत्रगत रुपमा जोखिम देखाउनेछ ।

प्रधानमन्त्रीले घोषणा गरेको लकडाउनसम्बन्धी लचकता अहिलेको लागि इंग्ल्याण्डमा मात्रै लागू हुनेछ । स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्ड भने अहिलेसम्म लकडाउनमा कुनै पनि परिवर्तन गर्ने पक्षमा देखिएका छैनन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू