मंगलबार, वैशाख ११, २०८१
19:09 | २३:५४

जनसम्पर्क समिति यूकेले बाँड्यो ५० विद्यार्थीलाई राहत

नेपाली लिङ्क मे ९, २०२०

लण्डन । कोरोना महामारीका कारण अफ्ठेरोमा परेका बेलायतस्थित नेपाली विद्यार्थीहरुलाई नेपाली जनसम्पर्क समिति यूकेले सहयोग गरेको छ ।

धेरै नेपाली विद्यार्थीहरु समस्यामा रहेको भनिएको पश्चिम वर्कशायरस्थित ‘हडर्सफिल्ड विश्वविद्यालय’ का ५० विद्यार्थीलाई शनिबार राहतस्वरुप खाद्यान्न वितरण गरिएको समितिका उपसभापति सुवास पोखरेलले नेपाली लिंकलाई जानकारी दिए ।

लण्डनबाट करिब २ सय माइलको दूरीमा पर्ने उक्त ठाउँमा राहत वितरणका लागि जनसम्पर्क समितिका सभापति युवराज गुरुङ, उपसभापति सुवास पोखरेल लगायतका पदाधिकारी आफैं पुगेका हुन् ।

अफ्ठेरोमा परेका विद्यार्थीहरुलाई उनीहरुकै घरघरमा पुगेर राहत बाँडिएको उपसभापति पोखरेलले बताए । करिब २ हजार पाउण्ड बराबरको राहत बाँडिएको उनको भनाइ छ ।

राहतका रुपमा विद्यार्थीहरुलाई चामल, दाल, तेल सहितका खाद्यान्न बाँडिएको थियो । साथै, विद्यार्थीहरुलाई आवश्यक परामर्श र सल्लाह समेत उपलब्ध गराइएको थियो । अफ्ठेरोमा रहेका विद्यार्थीहरुको तथ्यांक संकलन र राहत वितरणको संयोजन विद्यार्थी प्रज्ञान चापागाईंले गरेका थिए ।

लामो समय आन्तरिक विवादबाटै गुज्रिएको जनसम्पर्क समितिले यसपटक भने पीडित विद्यार्थीहरुसम्मै पुगेर सहयोग बाँड्ने क्रियाशिलता देखाएको छ ।

हडर्सफिल्ड विश्वविद्यालयमा केहि महिनाअघि मात्रै नेपालबाट आएका नयाँ विद्यार्थीहरु पनि थुप्रै छन् । उनीहरुमध्ये कतिपयले महामारीअघि ‘पार्टटाइम’ काम शुरु गर्न पनि पाएका थिएनन् ।

बेलायतमा अध्धयनरत नेपाली विद्यार्थीलाई खाना, बस्नकै समस्या भएको चर्चा हुन थालेपछि यसअघि एनआरएनए यूके, मर्जिङ नेपसक्स लगायतका अन्य संघसंस्थाले पनि बेलायतका विभिन्न ठाउंस्थित विद्यार्थीलाई राहत बाँडिरहेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू