शुक्रबार, वैशाख १४, २०८१
21:15 | ०२:००

राजदूत सुवेदीको काव्यसंग्रह अब अडियो बुकमा

नेपाली लिङ्क मे ९, २०२०


लन्डन । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी (दुबसु क्षेत्री) द्वारा लिखित काव्य संग्रह ‘अश्वमेध यज्ञका घोडाहरु’ को अडियो बुक (सुन्ने संस्करण) तयार भएको छ । यस कविता संग्रहको अडियो बुकमा वरिष्ठ सञ्चारकर्मी एवं साहित्यकार खगेन्द्र नेपालीको आवाज छ ।

साझा पुरस्कारद्वारा पुरस्कृत उक्त काव्यकृति नेपाली साहित्यमा निकै लोकप्रिय मानिन्छ । ‘अश्वमेध यज्ञका घोडाहरु’ मूलतः उज्यालोको पक्षमा, आस्थाका पक्षमा लेखिएका कविताहरुको संग्रह हो । यसमा प्रस्तुत कविताहरु अँध्यारोविरुद्ध उज्यालोका युद्धहरु हुन्, बन्धनविरुद्ध निर्बन्धताका युद्धहरु हुन् अनि विभीषिकाविरुद्ध जिजीविषाका युद्धहरु हुन् । यी कविताहरु युद्ध, बम, बारुद र बन्दुकका विरुद्धमा छन् । विध्वंश र विनाशका विरुद्धमा छन् । यस संग्रहका कविताहरु यन्त्रका विरुद्धमा छन्, यन्त्रणाका विरुद्धमा छन् ।

मानिसका लागि स्वतन्त्रता र निर्बन्धताभन्दा ठूलो अर्को सम्पत्ति हुन सक्दैन् । मानिसलाई कुनै पनि भूगोल, धर्म, राजनीति, सम्पत्ति, सिमाना केहीले छेक्न सक्दैन र छेक्न हुंदैन भन्ने कुरालाई अश्वमेध यज्ञका घोडाहरु कविता संग्रहले प्रष्ट पार्न खोजेको छ । पुराना कृतिहरुलाई अडियो बुकमा तयार पार्दा इच्छुक सबैले सजिलैसंग सुन्न मिल्ने र भविष्यका लागि पनि सुरक्षित र संरक्षित रहने ‘अस्वमेध यज्ञका घोडाहरु’ का लेखक एवं राजदूत डा. सुवेदीले बताएका छन् । आफ्ना अन्य कृतिलाई पनि भविष्यमा अडियो बुकको रुपमा प्रस्तुत गर्दै पुनर्जीवन दिने राजदूतको सोच छ ।

कूटनीति र साहित्यलाई एकैसाथ अघि बढाउंदै आएका सुवेदीले परराष्ट सेवामा तीन दशक भन्दा बढि समय बिताइसकेका छन् । बेलायतस्थित लिड्स युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सम्बन्धमा एमए र त्रिभुवन विश्वविद्यालयबाट नेपालको परराष्ट्र र कुटनीति सम्वन्धमा विद्यावारिधि गरेका सुवेदीले नेपाली राजदूतावास बर्मामा द्वितीय सचिव, न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगमा प्रथम सचिव तथा नेपाली राजदूतावास जापानमा डेपुटी चिफ अफ मिसन र मिनिष्टर काउन्सिलर तथा बहराइनमा कार्यवहाक राजदूतको भूमिका कुशलतापूर्वक निभाइसकेका छन् । विश्वका धेरै ठाउंको साहित्य, संस्कृति, धर्म दर्शन र सभ्यताको अध्ययन र अनुभवलाई उनले आफ्नो सृजनाम प्रतिविम्बित गरेका छन् । सुवेदीका गीत, कविता र गजल गरी झण्डै एक दर्जन बढि साहित्यिक रचना प्रकाशित छन् ।

अडियो बुकमा खगेन्द्र नेपाली

अश्वमेध यज्ञका घोडाहरु काव्य संग्रहमध्यबाट ५९ वटा कविताको अडियो बुक तयार गरिएको छ, जसलाई खगेन्द्र नेपालीको युट्युब च्यानलमा सुन्न सकिनेछ । बीबीसी नेपाली सेवामा लामो समय काम गरिसकेका बरिष्ठ 
सञ्चारकर्मी एवं साहित्यकार नेपालीको आवाजमा यस काव्य संग्रहको अडियो बुक (सुन्ने संस्करण) तयार भएको हो ।

नेपालीले यसघि पनि थुप्रै लोकप्रिय नेपाली कृतिहरुलाई अडियो बुकमा आवाज दिइसकेका छन् । उनले अविरल बग्दछ इन्द्रावती, जीवन कांडा कि फूल, फोकल्याण्ड जर्नल, बीपी कोइरालाको आत्मवृतान्त, माझीगाउं, सन्त गाथा, भीमसेन थापा, सेतो बाघ, जन्मदेखि शून्यसम्म महाकवि देवकोटाका कविताहरु, अटोग्राफी अफ बीपी कोइराला जस्ता थुप्रै कृतिको अडियो बुक यसघि नै युट्युब मार्फत सार्वजनिक गरिसकेका छन् ।

नेपाली साहित्यप्रति रुची रहेका तर पढ्न नसक्ने, देख्न नसक्ने जस्ता मानिसहरुको लागि अडियो बुक निकै उपयोगी हुनुका साथै पुराना तथा समसामयिक साहित्यले पुनर्जीवन पाउने नेपालीको धारणा छ । सबै खालका नेपाली साहित्यको अडियो बुक तयार गर्ने आफ्नो चाहना रहेको उनले बताए ।

‘अश्वमेध यज्ञका घोडाहरु’ को अडियो बुक युट्युबमा  सुन्नको लागि यहाँ  क्लिक गर्नुहोला  । साउण्डक्लउडमा सुन्नको लागि यहाँ क्लिक गर्नुहोला  ।

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू