मंगलबार, मंसिर १६, २०७७
05:44 | ११:२९

आइतबारदेखि बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुल्ने

रासस मे ८, २०२०

काठमाडौँ ।  मन्त्रिपरिषद्को वैशाख २४ गतेको निर्णयअनुसार आगामी आइतबारदेखि बैंक तथा वित्तीय संस्थाका देशभरका शाखा खुल्ने भएका छन् । 

सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी संस्थामार्फत अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाइ कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा आइतबारदेखि सबै बैंक तथा वित्तीय संस्थाका शाखा स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सञ्चालनमा ल्याउने तयारी गरिएको हो । 

एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीका अनुसार सरकारको निर्णयअनुसार आवश्यकताका आधारमा एक तिहाई  कर्मचारी राखेर शाखा सञ्चालनमा ल्याउन लागिएको हो । नेपाल बैंकर्स संघले सबै बैंकका सम्पूर्ण शाखा खोल्न आग्रह गरेको छ । 

एक पटकमा शाखा कार्यालयमा पाँच जनाभन्दा बढी सेवाग्राहीलाई प्रवेश दिइने छैन भने मास्क, स्यानिटाइजरलगायत स्वास्थ्य सुरक्षाका सामग्री बैंकका कर्मचारी र सेवाग्राहीका लागिसमेत अनिवार्य गरिएको छ ।

‘लकडाउन’को अवधिमा बैंकले आलोपालो सेवा दिँदै आएका थिए । शाखा कार्यालय नजिक रहेका ‘एटिएम काउन्टर’ बन्द गरिएका थिए भने अन्य स्थानमा ‘एटिएम’ सञ्चालनमा ल्याइएको थियो । 

सरकारले गत चैत ११ गतेदेखि कोरोना संक्रमण बढ्न नदिन ‘लकडाउन’ घोषणा गरेसँगै बैंक तथा वित्तीय संस्था आंशिकरुपमा खुलेका थिए । उनीहरुले ग्राहकलाई बढीभन्दा बढी विद्युतीय माध्यममार्फत कारोबार गर्न आग्रह गरेका थिए ।

सरकारको पछिल्लो निर्णयलगत्तै बैंकका शाखा खुल्ने निर्णयले ग्राहकलाई थप राहत पुग्ने विश्वास लिएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू