बिहीबार, वैशाख १३, २०८१
16:27 | २१:१२

बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या ४९

नेपाली लिङ्क मे ३, २०२०

लण्डन । बेलायतमा कोरोना संक्रमणका कारण हालसम्म कमसेकम ४९ जना नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसिसीको स्वास्थ्य समितिमार्फत जारी तथ्यांकअनुसार अहिलेसम्म बेलायतमा ४९ जना नेपालीले कोरोनाबाट ज्यान गुमाएको देखिएको हो ।

लण्डनस्थित नेपाली दूतावासले भने हालसम्म बेलायतमा कोरोनाबाट ३६ जना नेपालीको मृत्यु भएको पुष्टी गरेको छ ।

एनआरएनए यूकेले संकलन गरेको तथ्यांकका आधारमा बेलायतमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेमध्ये क्षेत्रगत रुपमा सबैभन्दा बढी ग्रेटर लण्डनमा २७ जना छन् । त्यस्तै, साउथ ईष्ट इंग्ल्याण्डमा ११ जना, मिडल्याण्डमा ८ जना र साउथ वेस्ट इंग्ल्याण्डमा ३ जनाको मृत्यु भएको छ ।

मृतकमध्ये करिब तीन दर्जन भूतपूर्व गोर्खा र उनीहरुका परिवारका सदस्य रहेको बताइएको छ ।

एनआरएनए यूकेले सञ्चालन गरेको हेल्पलाइन र बेलायतभर रहेका आफ्ना पदाधिकारीहरुको सक्रियतामा तथ्यांक बटुलिएको जनाएको छ ।

हेल्पलाइनको समेत संयोजन गरिरहेका सचिव जीत रानाभाटले नेपाली लिंकसंग भने, ‘हामीसंग सूचना आएअनुसार पछिल्लो २ महिना अवधिमा मृत्यु हुनेहरुको संख्या अझै धेरै छ । हाम्रो स्रोतबाट सम्बन्धित परिवार र निकट स्रोतसंग सम्पर्क गर्दा कोरोनाको संक्रमण पुष्टी हुनेको संख्या ४९ हो ।’

एनआरएनए यूकेले बटुलेको तथ्यांकअनुसार बेलायतमा कोरोनाको संक्रमणका कारण कुल ८६ जना नेपाली अस्पताल भर्ना भएका छन् । उनीहरुमध्ये २१ जना अझै पनि अस्पतालमै उपचारको क्रममा छन् ।

त्यसैगरी, लक्षणहरु देखिएर घरमै ‘सेल्फ आइसोलेसन’ मा बस्ने नेपालीको कुल संख्या ३ सय ६९ छ । जसमध्ये १ सय १९ जना अझै पनि ‘आइसोलेसन’ मा छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू