शुक्रबार, वैशाख ७, २०८१
07:12 | ११:५७

कोरोनाबाट प्रभावित गोर्खाका समस्याबारे बेलायत सरकारको ध्यानाकर्षण

आवश्यक सहयोग उपलब्ध गराउन आग्रह

नेपाली लिङ्क अप्रिल २७, २०२०

लण्डन । लण्डनस्थित नेपाली दूतावासले कोरोना भाइरस महामारीका कारण विभिन्न समस्यामा परेका बेलायतस्थित पूर्व गोर्खा र तीनका परिवारका सदस्यहरुलाई आवश्यक सहयोग उपलब्ध गराउन बेलायत सरकारलाई आग्रह गरेको छ ।

दूतावासले सोमबार बेलायत सरकारलाई पत्राचार गर्दै गोर्खा समुदायका वृद्धवृद्धाहरुको अवस्थाका बारेमा ध्यानाकर्षण गराएको दूतावासका प्रवक्ता शरदराज आरनले जानकारी दिए ।

बेलायतमा रहेका नेपालीहरुमध्ये कोरोना संक्रमणको कारण वृद्धवृद्धा एवं भूतपूर्व गोर्खाहरु र उनीहरुका परिवारका सदस्यहरु बढी प्रभावित भएको र मृत्युदर पनि उच्च रहेको, उनीहरुमा भाषागत समस्या रहेको तथा अस्पताल र अत्यावश्यक सामग्रीहरुको पहुँचमा उनीहरुलाई समस्या रहेकाले यथासक्य चाँडो आवश्यक सहयोग उपलव्ध गराउन अनुरोध गरिएको प्रवक्ता आरनले बताए ।

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायत सरकारको परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय र ‘गोर्खा वेलफेयर ट्रस्ट’ लगायत निकायहरुमा गोर्खाहरुको समस्याका बारेमा ध्यानकार्षण समेत गराएको दूतावासले जनाएको छ ।

साथै, गोर्खाहरुको सहयोगको लागि आवश्यक समन्वयका लागि समेत दूतावास तयार रहेको जानकारी उनीहरुलाई गराइएको दूतावासको भनाइ छ ।

‘बेलायतमा बसोबास गर्ने पूर्व गोर्खाहरुका लागि आवश्यक जानकारी र परामर्श नेपाली भाषामै उपलब्ध गराउन तथा उनीहरुको लागि अस्पताल र औषधिको पहुँचलाई सहजीकरण गराउन दूतावासले बेलायत सरकारलाई आग्रह गरेको हो’, प्रवक्ता आरनले नेपाली लिंकसंग भने, ‘उनीहरुको लागि आवश्यक खाद्यान्नको व्यवस्थादेखि गोर्खा वेलफेयर ट्रस्टबाट प्रदान हुने सहयोगहरु पनि सहजीकरण गरिदिनुपर्यो भन्ने हाम्रो आग्रह हो ।’

दूतावासको पत्रले ठूलो संख्याका गोर्खाहरु कोरोनाबाट प्रभावित भएको अवस्थाबारे बेलायत सरकारलाई ‘अलर्ट’ गराउने अपेक्षा दूतावासले राखेको पनि आरनले बताए ।

बेलायतमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या तीन दर्जन नजिक पुगेको छ । जसमध्ये २६ जना पूर्व गोर्खाहरु नै छन् । पूर्व गोर्खा र उनीहरुका परिवारका धेरै सदस्य संक्रमित पनि छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू