शुक्रबार, चैत १६, २०८०
23:52 | ०५:३७

७७ वटै जिल्लामा ‘आरडिटी’ बाट परीक्षण शुरु

रासस अप्रिल १८, २०२०

फाइल फोटो

काठमाडौँ । ‘कोभिड–१९’ का बिरामी पहिचानका लागि ‘र्यापिड डायग्नोष्टिक किट’ (आरडिटी) बाट देशका ७७ वटै जिल्लामा परीक्षण शुरु गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा शनिबार आयोजित नियमित ‘ब्रिफिङ’मा हालसम्म यस प्रविधिबाट १९ हजार ४५४ जना र ‘पिसिआर’ प्रविधिबाट आठ हजार १७ जनाको परीक्षण भइसकेको जानकारी दिइयो ।

मुलुकभरका ‘क्वारेन्टाइन’मा बस्ने व्यक्तिको सङ्ख्या शनिबारसम्म चार हजार ५ सय ३६ जना रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

‘आइसोलेसन’मा बसेका सङ्क्रमितको सङ्ख्या १ सय १७ रहेकोमा काठमाडौँ उपत्यकाभित्र ५ र बाहिर १ सय १२ रहेका छन् । मन्त्रालयमा रहेका दुई कल सेन्टर १११५ र ११३३ मा गत २४ घण्टामा तीन हजार २१ कल प्राप्त भएकामा सबैको मन्त्रालयबाट सम्बोधन गरिएको जानकारी दिइयो ।

‘मोवाइल एप्लिकेसन’ र ‘वेबसाइट’मा स्वास्थ्यको स्वमूल्याङ्कन गर्नेको सङ्ख्या २० हजार १ सय ३० पुगेको छ । २४ घण्टामा मात्र एक हजार १ सय १८ जनाले स्वमूल्याङ्कन गरेका थिए । उनीहरुमध्ये तीन सम्भावित सङ्क्रमित ‘जोन’मा रहेका र त्यस्तो ‘जोन’मा पुग्नेको सङ्ख्या मुलुकभर हालसम्म २ सय ५४ जना छ ।

शुक्रबार थप १४ जनामा कारोनाको पुष्टि भएसँगै मुलुकमा ‘कोभिड–१९’ सङ्क्रण हुनेको सङ्ख्या ३० पुगेको छ । उदयपुरमा १२ र चितवनमा दुई जना पछिल्ला सङ्क्रमणबाट पुष्टि भएका हुन् । कूल सङ्क्रमितमध्ये उपचारपछि तीन जना निको भएका छन् भने बाँकी उपचाररत छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू