बिहीबार, वैशाख १३, २०८१
04:50 | ०९:३५

नेपालमा एकैदिन १४ संक्रमित थपिए

रासस अप्रिल १७, २०२०

नेपालमा शुक्रबार एकैदिन थप १४ जनामा  कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण  देखिएको छ ।

काठमाडौँ । नेपालमा शुक्रबार एकैदिन थप १४ जनामा  कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण  देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले उदयपुरमा १२ र चितवनमा दुई जनामा शुक्रबार परीक्षणका क्रममा सङ्क्रमण देखिएको बताए ।

नेपालमा एकै दिन यतिधेरै सङ्ख्यामा सङ्क्रमित देखिएको पहिलो पटक हो । यसअघि छिटफुट रुपमा परीक्षणका क्रममा सङ्क्रमित भेटिएका थिए । योसँगै सङ्क्रमितको सङ्ख्या ३० पुगेको छ । नेपालमा पहिलो पटक गत माघ ९ गते र दोस्रो पटक गत चैत १० गते विदेशबाट आएका व्यक्तिमा सङ्क्रमण देखिएको थियो । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा थप परीक्षणका लागि पठाएपछि कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो । यसअघि गत मङ्गलबार पेप्सिकोलास्थित ‘सनसिटी अपार्टमेन्ट’मा बस्ने दुई जनामा सङ्क्रमण देखिएको हो ।

सहप्रवक्ता डा अधिकारीका अनुसार उदयपुरमा सङ्क्रमण देखिएका सवै पुरुष रहेका छन् र उनीहरु नुरुी मस्जिदमा रहेका थिए । यसैगरी चितवनमा दुई आमा छोरालाई सङ्क्रमण देखिएको उनले बताए । १४ जना नयाँ सङ्क्रमितका बारेमा थप अध्ययन भइरहेको उनले जानकारी दिए । उनले ती सङ्क्रमितको सम्पर्क (कन्टयाक ट्रेसिङ) भइरहेको बताए ।

उदयपुरमा सङ्क्रमित १२ जना पुरुष ३४ वर्ष, २९ वर्ष, २६ वर्ष, २८ वर्ष, २८ वर्ष, २८ वर्ष, २८ वर्ष, २२ वर्ष, २५ वर्ष, २० वर्ष, ४० वर्ष र २९ वर्षका रहेका छन् । यसैगरी भरतपुर अस्पलातका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार राप्ती नगरपालिका–८ ब्रह्मनगरका ६३ वर्षीय महिला र उनका २७ वर्षका छोरामा कोरोना सङ्क्रमण भएको हो । उनीहरु दुवै बेलायतबाट गत चैतको पहिलो साता कतार एयरवेज हुँदै काठमाडौँ आएका हुन् । बुधबार द्रुत जाँच ‘रयापिड डाइग्नोष्टिक टेष्ट’ गर्ने क्रममा आमालाई शङ्कास्पद देखिएपछि सँगै आएका दुई छोरालाई समेत भरतपुर अस्पतालको ‘आइसोलेसन’ कक्षमा राखिएको थियो ।

अधिकारीका अनुसार बिहीबार उक्त प्रयोगशालामा दुई पटकसम्म ‘स्वाब’ परीक्षण गर्दा शङ्कास्पद देखिएपछि आमा र एक छोराको ‘स्वाब’ काठमाडौँ पठाइएको थियो । उनीहरुमा कोरोना सङ्क्रमण देखिएपछि जिल्ला उच्च सर्तकता अपनाइएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले शनिबार बिहानैबाट उनीहरुले भेट गरेका मानिसको खोजी गरी ‘क्वारेन्टाइन’मा राखिने जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू