शुक्रबार, चैत १६, २०८०
04:11 | ०९:५६

कोरोना जितेका बेलायतका नेपाली डाक्टर के भन्छन्?

नेपाली लिङ्क अप्रिल १४, २०२०

कोरोना भाइरस संक्रमण भएका बिरामीहरु हेर्ने क्रममा आफै संक्रमित बनेका डा सर्जु श्रेष्ठ निको भएर फेरि काममा फर्किसकेका छन् ।

लण्डन । बेलायतको सन्डरल्याण्ड अस्पतालमा ‘कन्सल्टेन्ट फिजिसियन’ एवम् मृगौला रोग विशेषज्ञका रुपमा कार्यरत छन् डा सर्जु श्रेष्ठ । अस्पतालमा कोरोना भाइरस संक्रमण भएका बिरामीहरु हेर्ने क्रममा आफै संक्रमित बनेका उनी अहिले भने निको भएर फेरि काममा फर्किसकेका छन् ।

मार्चको आधाआधी थियो । बेलायतमा कोरोनाका केसहरु बढ्दै गएको भएपनि महामारी नै भइसकेको थिएन । डा श्रेष्ठ कार्यरत सन्डरल्याण्ड अस्पतालमा पनि कोरोनाका एकदुई वटा केस मात्रै थिए त्यतिञ्जेल ।

‘हामी त मास्क र पञ्जा मात्र लगाएर बिरामी हेरिरहेका थियौं । अस्पतालमा पिपिईहरु उपलब्ध थिए,तर पनि पनि सबै प्रयोग गरेका थिएनौं, डा श्रेष्ठ सम्झिन्छन्, ‘मलाई पनि तीनै बिरामीसंगकै सम्पर्कले संक्रमण भयो भन्ने लागेको छ ।’

सुरुको दुई दिन पखाला भयो, उनले सामान्य रुपमै लिए । तेस्रो दिनदेखि ज्वरो पनि थपियो । ज्वरो निकै चर्को बन्दै गएपछि मनमा बिस्तारै चिसो पस्न थाल्यो । पखाला र ज्वरोपछि खोकी पनि सुरु भयो । तर श्वासप्रश्वासमा कुनै समस्या थिएन ।

हुन त त्यतिबेलासम्म पखालालाई कोरोनाको लक्षणका रुपमा लिइएको थिएन । तर कोरोना संक्रमित केहि बिरामीहरु हेरिसकेका डा श्रेष्ठलाई आफ्ना लक्षणहरु राम्रो सकेंत होइन भनेर बुझ्न कठिनाइ भएन ।

‘अहिलेसम्म जिन्दगीमा कहिल्यै बिरामी नपरेको मान्छे म । तेस्रो दिनसम्म आउँदा त यति धेरै कमजोर बनें कि बाथरुम नै जान पनि धौधौ भयो’, उमेरले ५ दशक काटेका डा श्रेष्ठले सुनाए, ‘साँच्चीकै भन्दा मैले जीवनमै पहिलोपटक मृत्युको बारेमा सोंच्न पुगें । मेरो आँखै अगाडि मेरो जस्तै लक्षणहरु बिग्रिएर ‘आइसियू’मा सारिएका ‘कोभिड’ बिरामीहरुको अनुहार झल्झली आइरह्यो ।’

श्वासप्रश्वासमा समस्या नआइञ्जेल अस्पतालले भर्ना लिंदैनन् भन्ने डा श्रेष्ठलाई थाहा थियो । ‘सिटामोल’को सहारामा घरमै बस्नुको विकल्प थिएन । श्रीमतीले तातो, झोलिलो र पचाउन सजिलो हुने खालका खानेकुरा, फलफूल, जुस आदि खुवाइरहेकी थिइन् । एक छोरा र एक छोरीसहितको श्रेष्ठ परिवारमा सबैजना एकअर्काबाट ‘आइसोलेट’ हुनुपर्ने भयो, जसकारण अवस्था झन् अफ्ठेरो बन्यो ।

लक्षणहरु सुरु भएको तेस्रो र चौंथो दिन डा श्रेष्ठलाई निकै गाह्रो भयो । ‘म त यस्तो अवस्थामा पुगिसकेको थिएं कि पहिलोपटक ‘लाइफ इन्सोरेन्स’का बारेमा समेत परिवारलाई बताएँ । मेरो कुरा सुनेर उनीहरु पनि झन् डराउँदै गएका थिए’, डा श्रेष्ठले भने, ‘पाँचौं दिनबाट मलाई ज्वरोले छोड्यो । अनि बिस्तारै सुधार महसुस हुन थाल्यो ।’

यसबीचमा डा श्रेष्ठकी श्रीमतीलाई समेत हल्का ज्वरो र खोकीको लक्षण देखिएको थियो । केहि दिनभित्रै दुवैले जाँच गराए, डा श्रेष्ठको रिपोर्ट ‘पोजिटिभ’ आयो तर श्रीमतीको ‘नेगेटिभ’ ।

बेलायतमै २० वर्ष काम गरेका डा श्रेष्ठका लागि ‘फ्लु’का केस नौलो होइनन् । यसअघि ‘स्वाइन फ्लु’, ‘बर्ड फ्लु’ सम्मका बिरामी हेरेको अनुभव संगालेका उनलाई कोरोनाको केस भने सबैबाट फरक र अझै धेरै खतरनाक लागेको छ ।

‘अहिलेसम्म कोरोनाको उपचार सम्भव छैन, कुनै औषधि पनि बनेको छैन’, सबैलाई उनको सुझाव छ , ‘सरकारले जारी गरेको ‘सोसल डिस्टेन्सिङ’को नियम पालना गरौं । नियमति हात धुने गरौं । शरीरमा पानीको कम हुन नदिऔं, स्वस्थकर खानेकुराहरु खाने गरौं । सावधानी नै सबैभन्दा उत्तम उपाय हो । कुनै लापरवाही नगरौं ।’

डा श्रेष्ठलाई स्वास्थ्यलाभ गर्ने क्रममा परिवारबाट निकै ठूलो साथ मिल्यो, विशेष त मनोवैज्ञानिक हिसाबले । ‘यो बेलामा मनोवैज्ञानिक रुपमा पनि मानिसलाई ठूलो सहयोगको खाँचो हुन्छ । जुन कुरा परिवारले बुझिदिनु आवश्यक छ’, उनले भने, ‘मेरो परिवार र श्रीमतीको सहयोगकै कारण पनि आफू छिटै निको भएंजस्तो मलाई लागेको छ ।’

गत सातादेखि फेरि आफ्नो नियमति काममा फर्किएका छन् उनी । अहिले त अस्पताल पनि कोरोना संक्रमितहरुले भरिभराउ छ । झण्डै ८० प्रतिशत बिरामी कोरोनाकै छन् । कोरोनाको संक्रमणबाट निको हुन नपाउँदै फेरि तीनै बिरामीहरुकै सम्पर्कमा पुगेका उनलाई कुनै डर भने छैन, ‘मलाई त निको भइसक्यो । मेरो शरीरमा जुन ‘एन्टीवडी’ पैदा भएर मलाई निको भयो, त्यसले नै अब मलाई फेरि संक्रमित हुने जोखिम कम गरेको छ जस्तो लाग्छ । पहिलेको तुलनामा ‘पिपिई’को प्रयोग पनि बढाइएको छ ।’

कोरोनाको संक्रमण हुँदै निको हुने बेलासम्मको अनुभव डा श्रेष्ठलाई जति धेरै कष्टकर भयो, त्यति नै महत्वपुर्ण पाठ सिक्ने अवसर पनि ।’जीवनको महत्व अझै बढि बुझेंजस्तो लागेको छ । आजका दिनसम्म आफुले गरेका कामहरु पनि कति ठीक थिए, कति बेठीक थिए भन्ने आत्ममुल्यांकन हुँदोरहेछ’, डा श्रेष्ठले थपे, ‘सबैभन्दा बढि महत्वपुर्ण कुरा त अब जीवनलाई त्यत्तिकै खेर फाल्ने होइन, झन् झन् राम्रा कामहरुमा लगाउनुपर्छ भन्ने कुरा भित्रैदेखि महसुस भएको छ ।’-अन्नपूर्ण पोष्ट

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू