शुक्रबार, चैत १६, २०८०
06:40 | १२:२५

एनआरएनए यूकेले विद्यार्थीलाई सहयोग आफै बाँड्ने

नेपाली लिङ्क अप्रिल १३, २०२०

एनआरएनए यूकेले आफ्नो सम्पर्कमा आउने विद्यार्थीहरुहरुलाई आफै सहयोग बाँड्ने निर्णय गरेको छ।

लण्डन । कोरोना महामारीका कारण विभिन्न समस्यामा परेका बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरुको लागि एनआरएनए यूकेले शुरु गरेको आफ्नो सहयोग अभियानलाई निरन्तर राख्ने भएको छ ।

लण्डनस्थित नेपाली दूतावासले सहयोगको आवश्यकतामा रहेका विद्यार्थीहरुलाई ‘मर्जिङ नेपसक्स’कै एकद्धारबाट सहयोग वितरण गर्न आव्हान गरेको केहि दिनपछि एनआरएनए यूकेले आफ्नो सम्पर्कमा आउनेहरुलाई आफै सहयोग बाँड्ने निर्णय गरेको हो ।

आइतबार भिडियो कन्फरेन्समार्फत सम्पन्न कार्यसमितिको बैठकले एनआरएनए यूकेको गरिमा, कार्यक्षेत्र र सञ्जाललाई ध्यानमा राख्दै बेलायत स्थित सम्पूर्ण संघसंस्थालाई यस अभियानमा सहयोग र सहकार्यको लागि आव्हान गर्ने निर्णय भएको बैठकपछि महासचिव फडिन्द्र भट्टराईले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

विद्यार्थीहरुको सहयोगको लागि समन्वय गर्न उपाध्यक्षद्वय सुनिलबाबु खड्का र रोजिना प्रधान राईलाई जिम्मेवारी प्रदान गरिएकोमा यो विभागलाई अझै प्रभावकारी बनाउँदै एनआरएनए यूकेमार्फत दर्ता भएर आएका सबै विद्यार्थीहरुको आवश्यकता पहिचान गरी अत्यावश्यक सहयोग गरिने बताइएको छ ।

बैठकले उपाध्यक्ष नारायण कंडेलको संयोजनमा महासचिव फडिन्द्र भट्टराई, कोषाध्यक्ष तेजेन्द्र रोका मगर , सचिव जीत रानाभाट, तथा कोभिड १९ सहयोग संयोजक दिपक श्रेष्ठ द्वारा तयार पारिएको ’कोभिड १९ राहत संकलन तथा राहत कोष संचालन सम्बन्धी कार्यविधी २०२०’ पारित गरेको छ ।

त्यस्तै, एनआरएनए यूकेको राष्ट्रिय समन्वय परिषददेखि राज्य परिषदसम्मका सबै निकायहरुलाई परिचालन गर्दै एनआरएनएका सबै अग्रज, सल्लाहकार, विभिन्न सामाजिक संघसंस्था तथा सम्पूर्ण बेलायतवासी नेपाली दाजुभाई दिदीवहिनीहरुलाई एनआरएन यूकेले सञ्चालन गरेको सहयोग संकलन अभियानमा सहयोग पुर्याउन अपिल गर्ने पनि निर्णय बैठकले गरेको छ ।

यसअघि कोभिड १९ आर्थिक संकलन अभियानका संयोजक इंग्ल्याण्ड परिषद दिपक श्रेष्ठको समितीलाई बिस्तार गर्दै सबै राज्य समन्वय परिषदका अध्यक्षहरु लाई आआफ्नो क्षेत्रमा संयोजन गर्ने जिम्मा दिने निर्णय गरिएको छ ।

बैठकमा कोरोना संक्रमणको कारण बेलायतमा मृत्यु भएका गैर आवासीय नेपालीहरुप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै एक मिनेट मौन धारण गरिएको थियो । मृतकका परिवारप्रति समवेदना समेत प्रकट गर्दै बैठकले कोरोना संक्रमणको कारण उपचाररत सम्पूर्ण बेलायतवासी नेपालीहरुमा शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा सम्पन्न बैठकमाआइसीसी सदस्यहरु शुसिला राई , दयानिधी सापकोटा, रामशरण सिम्खडा, अर्कराज तिम्सिना, सुरोज मास्के , योगकुमार फगामीसहित कार्यसमितीका २६ जना पदाधिकारी तथा सदस्यहरु उपस्थित थिए ।

बैठकमा हेल्पलाइनको संयोजन गरिरहेका सचिवद्वय जीत रानाभाट र कृष्ण ढकाल एवम् सदस्य हेम गुरुङले हेल्पलाइनमा अहिलेसम्म ६२ जनाको केस रजिस्टर भएको जानकारी दिए । त्यसैगरी, विद्यार्थी सहयोगका संयोजक उपाध्यक्ष रोजिना प्रधान राईले ४८ जना विद्यार्थीले सम्पर्क गरेको जानकारी दिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू