शुक्रबार, चैत १६, २०८०
13:14 | १८:५९

घरै भएपनि फिटनेसमा ध्यान दिन्छिन् गौरिका

नेपाली लिङ्क अप्रिल ११, २०२०

लन्डन । कीर्तिमानी पौडी खेलाडी ओलम्पियन गौरिका सिंहको दैनिकी अचेल आममानिस जस्तै प्रभावित भएको छ । कोभिड–१९ को महामारीका कारण उनको दैनिक अभ्यास बिथोलिएको छ । तर, घरै भएपनि फिटनेसमा ध्यान दिइरहेको उनी बताउंछिन् ।

‘सबै पुल बन्द छन् त्यसैले प्रशिक्षण गर्न पाएको छैन् । घरमै बसेर फिटनेसमा ध्यान दिएकी छु’, उनले भनिन्, ‘मेरो प्रशिक्षकसंग दैनिक कुराकानी हुन्छ र उहांले भनेअनुसार गरिरहेकी छु ।’

अर्को वर्ष जापानमा आयोजना हुने ओलम्पिकमा नेपालबाट सिधै छनोट भएका तथा छनोट प्रतियोगिताका लागि योग्य खेलाडीको हौसलाका लागि नेपाल ओलम्पिक कमिटीले आयोजना गरेको भिडियो कन्फरेन्समा सहभागी गौरिकाले लकडाउनका कारण घरबाट निस्कन नपाउंदा र प्रशिक्षण गर्न नपाउनु निकै कठिन समय भएको बताएकी थिइन् ।

उनले सन् २०२१ जुलाई २३ देखि अगस्ट ८ सम्म आयोजना हुने टोकियो ओलम्पिकमा अनिवार्य सहभागिताअन्तर्गत नेपालको प्रतिनिधित्व गर्नेछिन्। यसअघि सन् २०१६ को रियो ओलम्पिकमा सहभागी उनी त्यस संस्करणकै सबैभन्दा कान्छी खेलाडीको रुपमा संसारभर चर्चित भएकी थिइन् ।

विश्वभरका खेलकुद गतिविधि ठप्प भएकाले यो समय हरेक खेलाडीका लागि सबैभन्दा कठिन क्षण भएको उनको अनुभव छ ।

मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा कीर्तिमानी ४ स्वर्ण, २ रजत र ३ कांस्य पदक विजेता गौरिकाले मानव स्वास्थ्यभन्दा ठूलो खेलकुद नहुने भएकाले असजिलो भए पनि घरमै बसेर सक्दो फिट रहन र सकारात्मक सोचका साथ आफ्नो हौसला बढाउन पनि सबैमा अनुरोध गरेकी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू