शनिबार, वैशाख ८, २०८१
15:05 | १९:५०

बेलायतमा कोरोनाबाटै अर्का गोर्खा मेखबहादुरको निधन

नेपाली लिङ्क अप्रिल ९, २०२०

लण्डन । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा थप एकजना नेपालीको निधन भएको छ । बेलायतको ननिटन क्षेत्रमा बस्दै आएका ५६ वर्षीय पूर्व गोर्खा मेखबहादुर गुरुङको बुधबार निधन भएको हो ।

नेपालमा पर्वत जिल्लाको महाशिला गाउँपालिकाअन्तर्गत भोक्सिङ देउराली घर भएका गुरुङ श्रीमतीसहित बेलायत बस्दै आएका थिए । मृतक गुरुङलाई कोरोनाको संक्रमण पुष्टी भएको र अस्पतालमा उपचारकै क्रममा निधन भएको जानकारी पर्वत वेल्फेयर सोसाइटी यूकेका अध्यक्ष नेत्र आलेले दिए ।

मृतक गुरुङकै २/२ जिआर पल्टनका नम्बरी समेत रहेका आलेले नेपाली लिंकसंग भने, ‘सुरुमा आइसोलेसनमा बस्नुभएको थियो । पछि व्यथाले च्याँप्दै गएर अस्पताल भर्ना भएकोमा उपचारकै क्रममा अस्पतालमा निधन भएको हो ।’

पल्टनमा लामो समय संगै बिताएका मृतक गुरुङलाई आलेले एक ‘स्मार्ट स्पोर्टम्यान’ का रुपमा सम्झिए । ‘निकै स्मार्ट र फिट हुनुहुन्थ्यो । सबै खालका खेलहरुमा उहाँ निकै राम्रो हुनुहुन्थ्यो’, गुरुङको असामयिक निधनबाट स्तब्ध उनले सुनाए, ‘गत वर्षको नम्बरी भेलामा पनि भेटेका थियौं । अर्को वर्ष के हुन्छ थाहा छैन, भेटेको बेला फोटो खिचौं भन्नुभएको थियो । आज उहाँले बोलेजस्तै भएको छ ।’

मृतक गुरुङलाई अरु कुनै गम्भीर स्वास्थ्य समस्या रहेकोबारे आफूलाई थाहा नभएको नम्बरी आलेले बताए ।

बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीहरुको संख्या आधा दर्जन पुगिसकेको छ । पछिल्लो दुई दिनमा मात्रै ४ जना नेपालीको निधन भएको छ । मृतकमध्ये धेरै पूर्व गोर्खा सैनिक नै छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू