बुधबार, मंसिर १०, २०७७
10:51 | १६:३६

कोभिड बिरामी जांच्ने ‘
फ्रण्टलाइनर चिकित्सक’ को यस्तो छ अनुभव

नेपाली लिङ्क अप्रिल ७, २०२०

डा. मोहन थापा ।

लन्डन । बेलायतमा कार्यरत नेपाली चिकित्सकहरुको दैनिकी अचेल बडो व्यस्त छ । कोभिड १९ बिरामी जांचको चटारोले उनीहरुलाई एकछिन् फूर्सद छैन् । बेलायतका सयौं नेपाली चिकित्सकमध्ये लन्डनस्थित वाटफोर्ड जनरल अस्पतालमा कन्सल्टेन्ट फिजिसियन एवं एक्युट मेडिसिन डिपार्टमेन्टमा क्लिनिकल डाइरेक्टर छन् डा. मोहन थापा ।

करिब दुई दशकदेखि चिकित्सा पेशामा आवद्ध थापा सन् २०१३ देखि वाटफोर्ड जनरल अस्पतालमा काम गर्न थालेका हुन् । नेपाल छंदा धरान वीपी कोइराला अस्पतालमा कार्यरत थिए उनी । विगत १७ वर्षदेखि बेलायतमा चिकित्सा पेशामा संलग्न डा. थापा यतिखेर कोभिड १९ बिरामी जांच्ने 
फ्रण्टलाइनर चिकित्सक हुन् ।

अहिले उनको व्यस्तता निकै चुलिएको छ । ‘सामान्यतया ९ देखि ५ बजेसम्मको ड्यूटी हो तर अहिले १२ घण्टामा कम्तीमा काम 
गर्नुपर्ने अवस्था छ’, उनले सुनाए, ‘कोभिड बिरामी बढेका बढ्यै छन् । अब ७ देखि १० दिनसम्म मृत्युदर पिकमा जाने अनुमान गरिएको छ ।’

गत ९ मार्चका दिन । उनको अस्पतालमा कोरोना भाइरसले पहिलोपटक एकजना बिरामीको मृत्यु भएको थियो जसलाई बीबीसी जस्ता सञ्चारमाध्यमले समाचार बनाएका थिए । तर, अहिले दिनहुं मर्न थालेका छन् । ‘शुरुका दिन थोरै केस आउंदा व्यवस्थापन सजिलो थियो । अहिले बिरामी यति हुन थालेकी विशेष वार्डभित्र क्याबिनमा नराखी एकै ठाउंमा ओपन वार्डमा राख्नुपर्ने स्थिति छ’, उनले बताए ।

वाटफोर्ड जनरल अस्पतालले पनि अन्य अस्पताल जस्तै ‘डेडिकेटेड कोभिड वार्ड’ बनाएको छ । ‘सुन्दा नराम्रो लाग्छ तर कोभिड बिरामीका लागि भनेर डर्टी एरिया अथवा संक्रमण हुन सक्ने र नन कोभिड बिरामका लागि क्लिन एरिया छुट्टाइएको छ’, उनी भन्छन्, ‘अहिले संक्रमण ‘पिक’ मा पुगिरहेको छ । यसको मतलब केही साताभित्र कोभिड १९ ले बेलायतमा झन् भयावह स्थिति ल्याउने देखिन्छ ।’

श्वासप्रश्वासमा गाह्रो, ज्वरो ३७.८ वा त्यो भन्दा बढि, नयां सुख्खा खोकी निरन्तर लागिरहने, सिंगान बगिरहने, घांटी, जीउ दुख्ने आदि कोभिड १९ का लक्षण हुन् डा. थापाकै शब्दमा ।

श्वासप्रश्वासमा गाह्रो, ज्वरो ३७.८ वा त्यो भन्दा बढि, नयां सुख्खा खोकी निरन्तर लागिरहने, सिंगान बगिरहने, घांटी, जीउ दुख्ने आदि कोभिड १९ का लक्षण हुन् डा. थापाकै शब्दमा । ‘बिरामीलाई एम्बुलेन्सबाट निकालेपछि शुरुमा कोभिड वेटिङ एरियामा राखेर ब्लडप्रेसर, तापक्रम, अक्सिजन लेभल, निमोनिया छ छैन् जांचेर नेजल स्वाब लिइन्छ’- उनी प्रक्रिया सुनाउंछन् । ‘डाइबिटिज, ब्लडप्रेसर, क्यान्सर, श्वासप्रश्वास समस्या छैन्, गर्भवती महिला होइन् र स्टेबल बिरामी अर्थात एक्सरे गर्दा निमोनिया देखिएन् र सबै रिपोर्ट क्लियर छ भने हामी घर पठाउंछौं’, उनले भने ।

त्यस्ता बिरामीलाई अस्पतालले १४ दिनसम्म घरैमा बस्न सुझाउने र दैनिक फोन गरेर अवस्था बुझने उनी बताउंछन् । पुरानो रोग भएका वृद्धवृद्धा वा सिभियर सिम्टम्स् ग्रुप आए भर्ना गरि हाल्नुपर्ने उनले बताए । कोभिड बिरामी भनेर आएपनि आधा जस्तो बिरामी घरैमा उपचार गरेर निको भएको उनको अनुभव छ ।

‘अहिले डाक्टर, नर्स सबैमा त्रास छ । यतिबेला प्रत्यक्ष खटिइरहेका जुनियर डाक्टर, नर्स, हेल्थ केयर असिसटेन्ट, पोर्टर, क्लिनर सबैको आत्मविश्वास (मोरल बुस्ट) बढाउनु पर्ने बेला आएको छ’, उनले भने । नर्स, चिकित्सकहरु बिरामी जांच्न विश्व स्वास्थ्य संगठनको गाइडेन्स अनुसार पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पिपीइ) लगाएर जाने उनी बताउंछन् । ‘पिपीइ लगाएर लामो सिफ्ट काम गर्न सकिंदैन् । त्यसकारण स्वास्थ्यकर्मीलाई कोभिड एरियामा बढिमा ३ देखि ४ घण्टा राख्ने गरिएको छ’, उनले भने ।

बेलायतमा सरकारको पूर्ण तयारी नभएको दावी गर्दै डा. थापाले ब्रिटिश मेडिकल एसोसिएसनले पनि पर्याप्त पीपीइको व्यवस्था हुन सकेन भनेको बताउंछन् ।

कोरोना भाइरस सबैका लागि नयां अनुभव भएकाले सबैमा मनोवैज्ञानिक डर त्रास भएको उनको अनुभव छ । ‘व्यक्तिगत रुपमा मलाई पनि त डर छ नि । तर, कन्सल्टेन्ट फिजिसियन भएकाले मैले जुनियर डाक्टरलाई ‘पोजिटिभ इनर्जी’ दिनुपर्छ’- उनी भन्छन् ।

कोरोनालाई परिवार आउन भेट्न नपाउने ‘क्रुल डिजिज्’ को संज्ञा दिन्छन् थापा । ‘बिरामीले हामीलाई बढि विश्वास र भरोसा गरेका हुन्छन् । उनीहरुको रेखदेख हाम्रो दायित्व हो’, डा. थापा बताउंछन्, ‘अस्पताल भर्ना भएका बिरामी डिस्चार्ज हुंदा हामीलाई थप उत्साह मिल्छ ।’

कोरोना रोग लाग्दैमा आत्तिहाल्न नहुने बताउंछन् उनी । ‘धेरैलाई निको पनि भएको छ । तर, युवा र पुरानो रोग नभएकालाई केही हुन्न भन्ने चाहिं छैन् । वृद्धवृद्धा र पुरानो रोग भएकालाई छिटो संक्रमण हुन्छ र उनीहरु बढि जोखिममा छन्’, उनले सुनाए ।

डा. थापा घरैमा बसिदिएर एनएचएस स्टाफ, स्वास्थ्य प्रणाली र धेरै मानिसलाई बचाउन आग्रह गर्छन् । ‘तपाईंहरु सबै बेलायत सरकारको सल्लाह मानेर नियमित हात धुनुहोस् । जमघट नगर्नुहोस् । मानवीय संकटको बेला वरपरका असक्त, वृद्धवृद्धालाई पनि रेखदेख गर्नुस्’, उनले अपिल गरे, ‘अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु, मानसिक स्वास्थ्यको ख्याल गर्नु, आफूलाई बिजी राख्ने गर्नु, कोरोनाको आधिकारिक बाहेक समाचार धेरै नहेर्ने, यति मरे उति मरे भनेर गणना नगर्ने गर्नुहोस् । रोग लागेपनि स्वास्थ्य हुनुहुन्छ भने नियन्त्रण हुन्छ तर समय लाग्छ । यसमा धैर्यता आवश्यक छ । सबैजना घरैमा बसेर कोभिड १९ नियन्त्रणमा सहयोग गर्नुस् हाम्रो त्यही अपिल छ ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू