बिहीबार, १६ अक्टोबर, २०२५
15:30 | २०:१५

बेलायतसहित राजनीतिक कोटाका सबै राजदूत फिर्ता बोलाउने निर्णय

कात्तिक २० गतेभित्र फर्कि सक्नुपर्ने

नेपाली लिङ्क अक्टोबर १६, २०२५

काठमाडौं- नेपाल सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पालामा राजनीतिक कोटामा नियुक्त गरिएका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदीश खरेलका अनुसार विहीबार सम्पन्न मन्त्रिपरिषद्को बैठकले बेलायतसहित चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, अमेरिका र जापानका लागि नियुक्त राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

उनका अनुसार ती राजदूतहरूलाई कात्तिक २० गतेभित्र स्वदेश फर्कन निर्देशन दिइएको छ।

ओली सरकारका पालामा राजनीतिक आधारमा पठाइएका ती राजदूतहरू फिर्ता बोलाउने निर्णयसँगै बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे पनि फिर्ता हुने भएका छन्। घिमिरेले बेलायतका लागि २३ औं नेपाली राजदूतको रुपमा गत जनवरी महिनामा आफ्नो कार्यभार सम्हालेका थिए ।

पूर्ववर्ती सरकारले राजनीतिक नियुक्ति गरेका १७ मध्ये केही राजदूतहरूलाई भने फिर्ता बोलाइएको छैन। सरकारले अब रिक्त हुने ती देशहरूका लागि नयाँ राजदूत सिफारिस गर्ने तयारी थालेको बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू