शुक्रबार, वैशाख ७, २०८१
05:37 | १०:२२

लन्डनकी सर्जक पिपला देवान नेपालमा सम्मानित

नेपाली लिङ्क मे १९, २०२३

लन्डन । हाल नेपाल भ्रमणमा रहेकी नेपाली साहित्य विकास परिषद् यूके सल्लाहकार तथा यती नेपाली एसोसिएसन यूकेकी अध्यक्ष पिपला पाण्डे देवान सम्मानित भएकी छन् । नेपाली साहित्य विकास परिषद् नेपाल च्याप्टरले एक कार्यक्रम गरी उनलाई विशिष्ट सम्मानले अभिनन्दन गरेको हो ।

महाराजगंज, बसुन्धरास्थित दियालो फुडल्याण्डमा आयोजित समारोहमा नेपाली साहित्य विकास परिषद् नेपाल च्याप्टरका प्रमुख सल्लाहकार वरिष्ठ कवि तथा साहित्यकार गोपाल पराजुलीले देवानलाई विशिष्ट सम्मान प्रदान गरे ।

पराजुलीले बेलायतमा लामो इतिहास बोकेका यती नेपाली एसोसिएसन यूके, नेपाली साहित्य विकास परिषद् यूके र कोशेली नेपाली सांस्कृतिक परिवार यूके जस्ता संस्थाहरूमा आवद्ध रहेर पिपला देवानले नेपाली पहिचान फैलाउन महत्वपूर्ण योगदान पुरयाएको बताए । समाजसेवी देवानले नेपाली भाषा, साहित्य, कला संस्कृति र समाजसेवाको क्षेत्रमा विशिष्ट योगदान दिएको पनि पराजुलीले उल्लेख गरे ।

प्रमुख अतिथिको आसनबाट सम्वोधन गर्दै देवानले नेपाली भाषा, कला साहित्य, संस्कृति जस्ता नेपाली पहिचानलाई बेलायतमा संरक्षण र सम्वर्धन गर्न आफूले खेलेको भूमिकाको मूल्यांकन गरेर दिइएको विशिष्ट सम्मानबाट अझ बढी हौसला जगाएको चर्चा गरिन् । उनले सम्मान प्रदान गरेकामा परिषद्को नेपाल च्याप्टरलाई धन्यवाद समेत दिइन् ।

समारोहमा परिषद्का नेपाल च्याप्टर महासचिव हरिशरण लामिछाने, सचिव डा. रेणुका थापा ‘सोलु’, कार्यकारिणी सदस्यद्वय ललिता ‘दोषी’ र राजेशजङ्ग शाहले आ–आफ्नो मन्तव्य राख्दै सर्जक तथा समाजसेवी पिपला पाण्डे देवानको व्यक्तित्वमाथि प्रकाश पारेका थिए ।

वक्ताहरुले नेपाली साहित्य विकास परिषद् यूके र नेपाल च्याप्टर दुवै सहकार्य गरि नेपाली साहित्यको विकास र प्रवर्धनमा अगाडि बढ्नु पर्नेमा जोड दिए ।

परिषद्को नेपाल च्याप्टरका प्रमुख सल्लाहकार वरिष्ठ कवि गोपाल पराजुलीको सभापतित्व र महासचिव तथा रेडियो नेपालका वरिष्ठ समाचार वाचक हरिशरण लामिछानेको सञ्चालनमा कार्यक्रम भएको हो । सो अवसरमा सचिव तथा त्रिभुवन विश्वविद्यालयकी प्राध्यापक डा. रेणुका थापा ‘सोलु’ ले स्वागत मन्तव्य दिएकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू