शुक्रबार, वैशाख १४, २०८१
10:36 | १५:२१

लन्डनमा भूतपूर्व गोर्खा मुद्दामा वहुप्रतिक्षित त्रिपक्षीय वार्ता शुरु

नेपाली लिङ्क नोभेम्बर ३, २०२२

लन्डन । भूतपूर्व ब्रिटिश गोर्खा मुद्दामा बेलायत र नेपाल सरकार (जिटुजी) तथा गोर्खा प्रतिनिधिबीच वहुप्रतिक्षित त्रिपक्षीय वार्ता शुरु भएको छ ।

लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा बिहीबार बिहान करिब एक घण्टा चलेको पहिलो चरणको वार्ता सकारात्मक रहेको भूतपूर्व गोर्खाहरुले जनाएका छन् । प्रारम्भिक चरणको वार्ता भएकाले यसले ठोस् निर्णय गरेन । 

यद्यपि, वार्तामा भूतपूर्व गोर्खाहरुका प्रमुख माग अंग्रेज सैनिक सरह समान पेन्सन, क्षतिपूर्ति, सेवा सुविधा जस्ता एजेण्डाले प्रवेश पाएको छ । 

वार्तामा नेपाल सरकारको नेतृत्व गरेका राजदूत ज्ञानचन्द्र आचार्यले गोर्खा ‘एजेण्डा’ कडा रुपमा पेश गरेको गोर्खाहरुले बताएका छन् । 

बेलायतको तर्फबाट रक्षा तथा भेट्रान राज्यमन्त्री डा. एन्ड्रु मरिसनले वेलफेयरमा मात्र जोड दिएकामा राजदूतले गोर्खाहरुको समान पेन्सन र विभेदमा वार्ता केन्द्रित हुनुपर्ने अडान लिएका थिए ।

भूपू गोर्खाहरुको माग सम्बोधनका विषयमा भएको उक्त पहिलो बैठकमा राजदूत आचार्यले भूपू गोर्खाका लागि ब्रिटिश सैनिकसरह समान पेन्सन, पूरक पेन्सन, अङ्गभङ्ग भएका मृतकको परिवारका लागि एकमुष्ट भुक्तानी, कल्याणकारी कार्यहरु लगायत समाधान गर्न बाँकी रहेका मागहरुकाबारेमा आफ्नो अवधारणा 
राखेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

प्रत्युत्तरमा बेलायती मन्त्री मरिसनले पेन्सन सवाल ‘जटिल’ भएको तर आफू मन्त्रालयमा आएको तीन दिनमात्र भएकाले यसबारे थप बुझेर अर्को वार्तामा छलफल गर्ने आश्वासन दिएका भूतपूर्व गोर्खाहरुका तर्फबाट वार्तामा सहभागी प्रवक्ता तथा मध्यस्तकर्ता मेजर रिटायर्ड जुदबहादुर गुरुङले जनाए । 

उक्त बैठकमा नेपाल सरकारका तर्फबाट राजदूतसहित नेपाली राजदूतावासकी उप–नियोग प्रमुख रोशन खनाल, सैनिक सहचारी महासेनानी रत्न बहादुर गोदार तथा भूतपूर्व गोर्खाहरुको तर्फबाट श्रीमती पुष्पा राणा घले, धनबहादुर गुरुङ तथा बेलायत सरकारको तर्फबाट रक्षा राज्यमन्त्रीसहित रक्षा मन्त्रालय एवं अन्तर्गतका विभिन्न पदाधिकारी सहभागी थिए ।

अर्को वार्ता कहिले हुन्छ यकिन छैन् । डिसेम्बरमा क्रिसमस र नयाँ वर्ष विदाका कारण जनवरी १५ पछि मात्र थप चरणका वार्ता हुने सम्भावना छ । मार्च २०२३ सम्म वार्ता निर्णायक हुनु पर्ने गोर्खाहरुको माग छ ।  


गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले वार्ता शुरु हुनु सकारात्मक भएपनि विगत जस्तो वर्षभरि वार्ता लम्ब्याइए त्यो मान्य नहुने प्रतिक्रिया दिए । 

‘हामीलाई पहिला पनि वार्ता वार्ता भनेर अल्मल्याइएको तीतो यथार्थबीच अब त्यस्तो ढिलाइ नहोस् भन्ने चाहन्छौं’, उनले भने । 

यसअघि गत २२ मार्च २०१८ मा दुवै सरकार र गोर्खा प्रतिनिधिबीच चरणवद्ध वार्ता गरेर १३ बुंदे प्राविधिक प्रतिवेदन बुझाइएको थियो । तिनै माग पुरा हुनुपर्ने अडान भूतपूर्व गोर्खाहरुको छ ।

रिले अनसन हुंदै १३ दिनको भोक हड्ताल बसेपछि गत १९ अगष्ट २०२१ मा बेलायतले त्रिपक्षीय वार्ताका लागि लिखित प्रतिवद्धता व्यक्त गरेको थियो ।

यद्यपि गत वर्ष राजदूत परिवर्तन, त्यसपछि युक्रेन रुस युद्ध, महारानीको निधन, बेलायतमा सरकार परिवर्तन आदि कारण देखाउंदै भूतपूर्व गोर्खा वार्तामा विलम्ब भइरहेको थियो । 

ढिलाइका कारण गोर्खाहरु सशंकित थिए । आफूहरुको वार्तामा नेपाल सरकारले पनि पर्याप्त चासो नदेखाएको आरोप गोर्खाहरुले लगाउंदै आएका छन् ।


भूतपूर्व गोर्खाहरुको शान्तिपूर्ण प्रदर्शन

मन्त्रालयमा वार्ता भइरहंदा बाहिर भूतपूर्व गोर्खाहरुले झरीको पर्वाह नगरि दवाव स्वरुप शान्तिपूर्ण प्रदर्शन गरेका थिए । बिहान १०.४५ बजे ट्राफलगर स्क्वायरमा जम्मा भएर गोर्खाहरुले मार्च पास शुरु गरेका थिए ।

गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति, गेसो र एनआरएनए यूकेको आव्हानमा प्रदर्शन भएको हो जसमा सयौं भूतपूर्व गोर्खा सहभागी भए । 

उनीहरु मफ्ती ड्रेस, सुट, रेजिमेन्टल टाई, मेडल, गोर्खा ह्याट जस्ता पहिरनमा सजिएर प्रदर्शनमा सहभागी भएका थिए । 

तस्बिर- एज्रा श्रेष्ठ     

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू