बिहीबार, वैशाख ६, २०८१
18:04 | २२:४९

बेलायतमा लगभग सबै युवतीले भोग्छन् यौन हिंसा

५२ प्रतिशत महिलामाथि कार्यस्थलमै यौनहिंसा

नेपाली लिङ्क मार्च १०, २०२१

लन्डन । बेलायतमा लगभग सबै युवतीले कुनै न कुनै स्वरुपको यौन हिंसा र दुर्व्यवहार भोग्न बाध्य हुने गरेको तथ्य उजागर भएको छ ।

हालै सार्वजनिक एक अध्ययन अनुसार सबै उमेर समूहका महिलामाथि यौन हिंसा र दुर्व्यवहार हुने गरेपनि यो समस्या युवतीहरुमा झन् बढी हुने पाइएको छ ।

संयुक्त राष्ट्रसंघअन्तर्गतको ‘वुमेन यूके’ ले गरेको अध्ययनअनुसार बेलायतमा १८ देखि २४ वर्ष उमेर समूहका युवतीमध्ये ९७ प्रतिशत यौन दुर्व्यवहार भोग्न बाध्य छन् । सबै उमेर समूहका महिलाहरुमा पनि ८० प्रतिशतले सार्वजनिक स्थलहरुमा यौन दुर्व्यवहार हुने गरेको अनुभव सुनाएका छन् ।

बेलायतका १ हजार भन्दा बढी महिलाहरुमा गरिएको अध्ययनले यौन दुर्व्यवहार र हिंसाका घटनाबाट पीडितमध्ये अधिकांश चुपचाप बस्ने गरेको देखाएको छ ।

पीडितमध्ये ९६ प्रतिशतले आफूमाथि भएको दुर्व्यवहारबारे रिपोर्ट गर्ने गरेका छैनन् । उनीहरुमा ४६ प्रतिशतले रिपोर्ट गरेको खण्डमा पनि राज्य संयन्त्रबाट समस्याको समाधान हुन सक्छ भन्ने विश्वास नरहेको पाइएको छ ।

अध्ययनमा संलग्न ‘वुमेन यूके’ की कार्यकारी निर्देशक क्लेयर बार्नेटले बेलायतमा महिलामाथि भइरहेका यौनजन्य हिंसाका घटनाहरुबाट आधारभूत मानवअधिकारकै संकट उत्पन्न भएको बताउँछिन् ।

अध्ययनको प्रतिवेदन राजनीतिक दलका नेतृत्वसम्म पठाइएको जानकारी गराउँदै उनले यो समस्यालाई गम्भीर रुपमा लिएर समाधानका लागि तत्काल प्रभावकारी पहल गरिनुपर्ने धारणा व्यक्त गरिन् ।

‘एभ्रीडे सेक्सिजम रिसर्च’ को अर्को एक अध्ययनअनुसार बेलायतमा ५२ प्रतिशत महिलाले आफ्नो कार्यस्थलमा पनि यौनहिंसा र दुर्व्यवहार भोग्ने गरेका छन् ।

तर उनीहरुमध्ये २० प्रतिशतले मात्रै आफूमाथि भएको हिंसाबारे रिपोर्ट गर्ने गरेका छन् । जसमध्ये ७५ प्रतिशतले हिंसाबारे रिपोर्ट गरेपछि पनि कुनै भिन्नता नआएको बताउँछन् भने १६ प्रतिशतले हिंसाको रिपोर्ट गरेपछि झन् बढी दुर्व्यवहार हुने गरेको सुनाउँछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू