गल्कोट समाज यूकेको दशौं स्थापना दिवस- मनाइयो सफलता र उपलब्धिको उत्सव

वेष्ट ब्रोमिच- बेलायतको सक्रिय नेपाली सामाजिक संस्था गल्कोट समाज यूकेले आफ्नो स्थापनाको दशौं वर्षगांठ एक विशेष समारोहका साथ मनाएको छ ।
सोमबार बर्मिङहमको वेष्ट ब्रोमिचस्थित द कन्फरेन्स सुइटमा नेपालका ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुतिसंगै विविध कार्यक्रमका साथ समाजको दशौं वार्षिकोत्सव मनाइएको हो।
समाजका अध्यक्ष विष्णु चालिसेको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव समारोहलाई अध्यक्ष चालिसे र प्रमुख अतिथि एवम् समाजका पूर्व अध्यक्ष भोजराज कंडेलले संयुक्त रुपमा पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका थिए। त्यस अवसरमा समाजको दशौं वार्षिकोत्सवको खुशीयालीमा संस्थापक अध्यक्ष रेशम थापा बुढाथोकी तथा पूर्व अध्यक्षहरु राजु कंडेल, भोजराज कंडेल, चन्द्र सहानी र वर्तमान अध्यक्ष विष्णु चालिसेले संयुक्त रुपमा केक काटेका थिए।
समारोहलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै संस्थाका पूर्व अध्यक्ष भोजराज कंडेलले दशौं स्थापना दिवस संस्था निर्माणको अभियानमा जोडिएका बेलायतवासी सम्पूर्ण गल्कोटेहरुका लागि गौरवको क्षण रहेको बताए । केही व्यक्ति विशेषको योगदानमा समाज यो अवस्थासम्म आइपुग्न सम्भव नरहेको भन्दै उनले सिंगो समाज र हरेक सदस्य यो सफलताको हकदार रहेको बताए।
संस्था स्थापनाको दश वर्ष अवधिमा गल्कोट हाउस निर्माणदेखि थुप्रै परोपकारी कार्य समेत पूरा भएकोमा खुशी व्यक्त गर्दै कंडेलले आगामी दिनमा झनै बढी प्रगतिका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताए।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै मिडल्यान्डको नेपाली समुदायका प्रभावशाली अभियन्ता दयानिधि सापकोटाले स्थापनाको छोटो समयमै गल्कोट समाज यूकेले हासिल गरेको उपलब्धि बेलायतको सिंगो नेपाली समुदायका लागि अनुकरणयोग्य उदाहरण बनेको उल्लेख गरे ।
समाजलाई स्थापनादेखि दशौं वर्षसम्म सफलतापूर्वक ल्याइपुर्याउन महत्वपूर्ण योगदान गर्ने समाजका अग्रज एवम् सम्पूर्ण सदस्यहरुप्रति सम्मान व्यक्त गर्दै सापकोटाले समाजको निरन्तर सक्रियता र प्रगतिको शुभकामना व्यक्त गरे ।
समाजका अध्यक्ष विष्णु चालिसेले दशौं वार्षिकोत्सव समारोहमा संस्थाको निमन्त्रणा स्वीकार गर्दै सहभागी हुने सम्पूर्ण अतिथि एवम् समाजका सदस्यहरुलाई धन्यवाद ज्ञापन गरे ।
स्थापनाका दशौं वर्षगांठको खुशीयाली मनाइरहंदा अध्यक्ष चालिसेले संस्थाको स्थापनादेखि दशौं वर्षसम्मको यात्रामा योगदान गर्ने संस्थापकहरु, अग्रजहरु तथा सबै सदस्यहरुप्रति आभार प्रकट गरे ।
दशौं वार्षिकोत्सव समारोहको प्रमुख आकर्षणका रुपमा नेपालबाट आएका लोकप्रिय गायक विष्णु खत्रीले विशेष सांगीतिक प्रस्तुति गरेका थिए । साथमा, गायिकाहरु जमुना राना र सपना रोकायाले पनि लोकदोहोरी प्रस्तुतिबाट मनोरञ्जन दिलाए ।
त्यस्तै, समीक्षा खत्री, दीपिका खत्री, अञ्जना सहानी, खुशी थापा, सम्झौता थापा, अतिशा सहानी, अवन्तिक सहानी, अर्पणा सापकोटासहित स्थानीय कलाकारले आकर्षक नृत्यहरु प्रस्तुत गरेका थिए। अन्त्यमा, डिजे हेम विष्टले नचाएका थिए ।

सो अवसरमा समाजको दशौं वार्षिकोत्सवका लागि सहयोग प्रदान गर्ने दाता एवम् अन्य सहयोगीहरुलाई समाजको तर्फबाट मायाको चिनो र प्रशंसापत्रसहित सम्मान गरिएको थियो । त्यस्तै, प्रस्तुति गर्ने सम्पूर्ण कलाकारलाई पनि समाजले मायाको चिनो र प्रमाणपत्र प्रदान गरी सम्मान गरेको थियो ।
समाजको दशौं वर्षगांठ समारोहमा भाग लिन मिडल्यान्डका सबै क्षेत्रसहित लन्डनदेखि स्कटल्यान्ड र नर्दन आयरल्यान्डसम्मबाट गल्कोटेहरु बर्मिङहममा भेला भएका थिए। कार्यक्रममा अतिथिका रुपमा बेलायत र मुख्यगरी मिडल्यान्डस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिसमेतको उल्लेख्य सहभागिता थियो ।
कार्यक्रमको शुरुमा समाजका महासचिव गोविन्दराम कंडेलले स्वागत मन्तव्य राख्दै उपस्थित सबै अतिथि एवम् सहभागीलाई स्वागत गरेका थिए। औपचारिक समारोहको सञ्चालन गर्दै समाजका संस्थापक महासचिव डा पुष्प उप्रेतीले संस्था स्थापनादेखि दशौं वर्षसम्म आइपुग्दाका महत्वपूर्ण उपलब्धिहरुबारे जानकारी गराएका थिए। कार्यक्रमको सुरुआती सत्र महासचिव गोविन्दराम कंडेल तथा सांस्कृतिक सत्र सचिव राजु सापकोटाले सञ्चालन गरेका थिए।
कोषाध्यक्ष तेज भण्डारी, सांस्कृतिक विभाग प्रमुख सुरेश परियार, नगेन्द्र खड्कालगायतले गेट व्यवस्थापन गरेका थिए। एडमिनमा पूर्व महासचिव कृष्ण खरेल, अर्जुन चालिसे र देवेन्द्र शर्मा तथा फोटोग्राफीमा कुश थापा खटिएका थिए। अतिथि सत्कारको जिम्मेवारी उपाध्यक्ष राजु बोहोरा, निरु चालिसे, सीता सुवेदी, सीता कंडेललगायतले सम्हालेका थिए भने राफल ड्रको संयोजन विनिता खनालले गरेकी थिइन्।
उपस्थित सयौं संख्याका अतिथि एवम् सहभागीका लागि समाजकै सदस्यहरुले स्वयमसेवी रुपमा तयार गरेको स्वादिष्ट नेपाली परिकार टेबल सर्भिस गरिएको थियो । जसको संयोजन उपाध्यक्ष सुरेश भण्डारी र टेक सहानीले गरेका थिए।
बाग्लुङ जिल्लाको गल्कोट क्षेत्रमा मूल घर भइ बेलायतमा बस्दै आएकाहरुलाई समेट्दै सन् २०१६ मा स्थापना भएको थियो गल्कोट समाज यूके। सामाजिक कार्यले स्थापनाको छोटो समयमै ठूलो प्रतिष्ठा कमाउन सफल संस्थाले बेलायतमा भवन खरिद गरी गल्कोट हाउस सञ्चालन गरिसकेको छ। नेपालमा पनि स्वास्थ्य क्षेत्रदेखि दैवीप्रकोपसम्मका समयमा समाजले कयौं परोपकारी काम गर्दै आएको छ।




सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


