बुधबार, वैशाख १२, २०८१
05:42 | १०:२७

प्रेम र आध्यात्मको किनारमा ‘काँचो कागज’

नेपाली लिङ्क मार्च ९, २०२१

लण्डन । नाटककार तथा उपन्यासकार गोपी सापकोटाको पहिलो उपन्यास ‘काँचो कागज’ फागुन २४ गतेबाट बजारमा आउने भएको छ ।

बेलायतको व्यस्त जीवन परिवेशमा पनि लेखनका लागि समय निकालेर गम्भिर साहित्य लेखनमा लागि परेका गोपीका यो भन्दा पहिले आठ वटा पुस्तक प्रकाशित भइसकेका छन् । उनी विगत तीन दशक कविता र नाटक लेखन सक्रिय रहँदै आएका छन् ।

बेलायतका साहित्यिक कार्यक्रममा एकदमै कम देखा पर्ने गोपी सापकोटा फुर्सद्को धेरैजसो समय लेखेर र पढेर नै बिताउँछन् । चार सय बत्तिस पेजको उपन्यास ‘काँचो कागज’ मा के छ त भन्ने प्रश्नमा गोपीले भने, ‘प्रेम र आशक्तिदेखि जीवन–दर्शन र आध्यात्मको कथा छ । प्रत्येक मानिसको मनको कुनामा जसरी प्रेम लुकेर बसेको हुन्छ, त्यसरी नै आध्यात्म पनि कतै न कतै थाहै नपाइकन लुकेर बसेको हुन्छ भन्ने कुरा छ ।’

गोपीले उपन्यास मार्फत् एउटा गहिरो प्रश्न पनि उठाएका छन् । उनी भन्छन्, ‘हाम्रो जीवनमा जे भइरहेको छ, त्यो कतै पहिले नै निश्चित भइसकेको त थिएन । उपन्यासले सोच्न बाध्य बनाउनेछ ।’

त्यसो त उपन्यास सबैलाई मन पर्ने बिषय र शैलीमा लेखिएको छ, तर पनि गोपीले उनको उपन्यास अरुले भन्दा युवा पुस्ताले धेरै मन पराउन सक्ने ठानेका छन् । उपन्यासमा प्रेम र आध्यात्मको कथा सँगसँगै बगेकाले युवाहरुले प्रेमको कुरा मन पराउनेछन् भने उमेर खारिंदै गएका र अनुभवी पाठकले आध्यात्म सम्बन्धी कुरा मन पराउनेछन् । 

उपन्यास बि.सं २०४४ सालको परिवेशबाट शुरु भएर भविष्यको बि.सं. २०८८ मा गएर टुङ्गिन्छ । नेपाली नाटकको क्षेत्रमा प्रयोगधर्मी नाटककारको छवि बनाएका गोपीले उपन्यासमा पनि नयाँ शैली प्रस्तुत गरेको हुनु पर्छ भन्ने अनुमान गर्न सकिन्छ ।

उनले भने, ‘यो उपन्यास मैले वास्तविकताको धरातल र कल्पनाको आकाश बीचको क्षितिजमा बसेर लेखेको हुँ । त्यसैले उपन्यास कतै यथार्थजस्तो लाग्नेछ, त कतै काल्पनिकजस्तो लाग्नेछ ।’

कोरोनाको महामारीको बेला भएको लकडाउनले गोपीलाई उपन्यास लेख्ने समय दिएको थियो । संसार लगायत बेलायत पुरै ठप्प भएको बेला गोपी कापी र कलम लिएर उपन्यास लेखनमा घोटिएका थिए ।

यो भन्दा पहिले कविता र नाटक लेखिरहेका गोपीलाई उपन्यास लेखनको अनुभवको बारेमा सोध्दा उनले भने, ‘उपन्यास लेख्नु भनेको कल्पनाको एउटा छुट्टै संसार निर्माण गर्नु हो । लेखकको जीवनको रमाइलो भन्नु नै उ एकातिर वास्तविक जीवन बाँचिरहेको हुन्छ त अर्कोतिर उसैले बनाएको कल्पनाको संसारमा हराइरहेको हुन्छ । जिन्दगीमा नमिलेका धेरै कुरा उपन्यासमा मिलाएर लेख्नुपर्ने हुन्छ ।’

अङ्ग्रेजीमा पनि कलम चलाउने गोपीले उपन्यासलाई अंग्रेजीमा पनि निकाल्ने योजना छ कि भन्ने प्रश्नमा अहिलेका लागि त्यस्तो योजना नरहेको बताए । उपन्यास काठमाडौंको कलम प्रकाशनले प्रकाशित गरेको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू