बिहीबार, चैत १५, २०८०
11:52 | १७:३७

‘एकजोर आंखा’

सन्दर्भ: १११औं अन्तरराष्ट्रिय श्रमिक महिला दिवस

प्रतिमा केसी मार्च ८, २०२१

अनिश्चित भविष्य लिएर
जन्मने छोरीहरु
कहिले भ्रुणहरूणबाट तुहिन्छन्
कहिले पूर्ण शरीरबाट लुटिन्छन्

यही समाजले
मनोरन्जनको साधन बनाउंछ
देह व्यापार गर्न लगाउंछ र
आफू पानी माथिको ओभानो बन्छ
उसैको कथा बेच्छ आँशु बेच्छ र पैसा कमाउंछ
शहरमा आलिशान महल ठडाउंछ
चोक चोकमा भन्दै हिंड्छ
आइमाई कमजोर शक्तिहीन हुन्छन्
भर विश्वास हुंदैन क्षमता हुंदैन
यो गर्न हुंदैन त्यो गर्न हुंदैन
यो किन गरेको ?
त्यो के गरेको ?
किन नगरेको ?
प्रश्नै प्रश्न !

के उपभोगजन्य वस्तु मात्र हुन् आइमाइहरु ?
अथवा बच्चा जन्माउने मेशिन मात्र ?
गीत गजल सुन्नुहोस्, कविता पढ्नुहोस्
मन्दिरमा भगवानका मुर्तिहरु हेर्नुस्
जताततै नारी पात्र भेटाउनुहुन्छ
जव यथार्थ जीवनमा फर्किनुहुन्छ
हत्या, हिंसा, बलत्कार र
लैंगिक विभेदको जांतोले
भौतिक र मानसिक रुपमा पिसिरहेको छ
जसरी शिशिरमा पात झरेर रुख सिख्रो हुन्छ

त्यसरी नै आइमाइका सपनाहरु
जिन्दगीबाट झरिरहन्छन्
आंखाबाट बगिरहन्छन्
भत्किरहन्छन् मक्किरहन्छन् र
सिसा जसरी झरयाम्म फुटिरहन्छन्

जिन्दगी खोज्न परदेश हिंडेका
धेरै दिदीबहिनीहरु घरै फर्केनन्
उज्ज्वल भविष्य किन्न
स्कूल गएका धेरै नानीहरु
रगताम्य भएर बाटोबाटै अस्ताए
यस्तै ह्दयविदारक विभत्स चित्रले
हरेक आमाहरुको मन क्षतविक्षत भइरहेको छ
बलात्कृत भइरहेको छ

मलाई ती भगवानलाई बिन्ति गर्न मन छ
आइमाइलाई पाठेघर नदिनु भगवान
आइमाइ हुनुको आत्मसम्मान
आजसम्म थोरै मात्रले पाएका छन्
सक्षम र सवल महिलामाथि पनि
बारबार प्रश्न उठाइरहन्छ औंला ठडाइरहन्छ समाजले
अग्नि परिक्षा दिइरहनु पर्छ आइमाईले

वास्तवमा नारी अस्तित्वलाई
कसैले रिलमा कसैले रियलमा
बारम्बार नंग्याइरहन्छन्
अनेक अनेक बहानाले
शोसित गरिरहन्छन्
आइमाईबाट शासित हुन
लज्जाबोध हुन्छ

मान्छे जन्माउने कारखाना मात्र होइनन् आइमाइ
आफ्ना हरेक सपनाहरुसंग सौदाबाजी गरेर
सन्तानलाई निस्वार्थ प्रेम दिन सक्ने
उनको स्वभाव नै साक्षात ईश्वरीय भाव हो
संसारका सबै जिवित मानवभित्र
आमाको अस्तित्व जिवन्त छ

संसारका सबै आइमाइहरु आमा हुन्
जीवनदायिनी तिनै आमालाई
किन हेयको दृष्टिले हेर्छ समाजले ?
अवला विधवा असक्षम भनेर
बारबार तीर घोच्छ समाजले
आफु जन्मेको घर नै सुरक्षित छैन्
स्कुल कलेज अफिस सबै असुरक्षित
तिनैलाई वोक्सीको आरोप लगाउंछ
अनुहारमा एसिड छर्किदिन्छ
दाइजो, छाउगोठ यस्तै धेरै निहुंमा
प्रत्यक्ष अप्रत्यक्ष रुपमा
शारीरिक र मानसिक हिंसा गरिरहन्छ
तिनै हिंसालाई पार गरेर
अलिकति अगाडि बढेकाहरुलाई
निकृष्ट आरोप लगाउंछ बदनाम गर्छ
आइमाइको चरित्र हत्या गरेर
आफू पवित्र बन्ने पैतृक नियत नै
आइमाईको नियति बनेको छ
स्त्री जातीलाई तुच्छ र कमजोर मान्ने
तिनीहरुलाई प्रश्न गर्न मन छ
आठ महिनाकी बालिका
बलत्कार गर्ने पुरुष बलवान हो ?
के वृद्ध आमाको बलात्कारी पुरुष सक्षम हो ?

अथवा किशोरीहरुलाई बलत्कारपछि
मारेर फरार हुन सक्ने
कानुनको नजरमा लुक्न सक्ने
अथवा कानुनलाई नै किन्न सक्ने
उनीहरु नै सफल मान्छे हुन् ?
के तिनीहरु नै असल मान्छे हुन् ?
के यी सबै मान्छेहरु
आमाको गर्भबाट आएका हैनन् र ?
अहम र दम्भको रेलगाडी कुंदाएर
समाज चलाउने महाशयहरुको लागि
महिला हिंसा केही होइन रे !
समाजमा घट्ने सामान्य कुरा हुन रे !
के ती महिला तपाइंकी आमा हुन सक्दिनन् ?

तीनै अपमानित महिला तपाइंकी दिदी बहिनी
छोरी बुहारी भतिजी जो पनि त हुन सक्छिन्
यी मध्य कोही नभए पनि
आमा मन भएकी एक महिला त हुन्
महिला हिंसालाई सामान्य र सरल मान्ने
यस्तै यस्तै विचारको कैदी
तपाईहरुलाई प्रश्न गर्न मन छ
तपाईंहरुको यहिं चिन्तनले
समग्र महिलाहरुको विकास होला ?
समतामुलक समाजको निर्माण गर्न सकिएला ?
जनतालाई राम राज्यको सपना बांडेर
झुटको खेती गर्ने भ्रष्टाचार उमार्ने
अनि सत्यको अग्निदहन गर्ने प्रवृतिले
कस्तो खालको मार्गदर्शन गर्ला ?
कस्तो नागरिक उत्पादन गर्ला ?
सभ्य समाज र असल नागरिक बनाउन
मान्छेहरुको मनको गहिराइबाट
विचारको उचाइबाट हेरिनु पर्छ
अन्याय, अत्याचार, हत्या, हिंसा
लैंगिक विभेद फेरिनु पर्छ
नारी, नारीवादी मात्र होइन
मानव भएर बांच्न सकुन
संसारका हरेक आइमाइहरु
मान्छे भएको हेर्न मन छ

प्रकृतिले पनि नारी ह्दय
कोमल र प्रेमिल बनाइदिएको छ
भौतिक रुपमा सुन्दर बनाइदिएको छ
बौद्धिक सुन्दर बन्ने कोशिस गरौं
आन्तरिक रुपबाट सवल बनौं
सबैमाथि दयालु भाव राखौं
बाहिर समानताको नारा लगाइ
भित्र सस्तो श्रमिक बनाउने
मान्छेहरुको चर्को एकाधिकारबाट
आफ्नो मानव अधिकार मागौं
मानवतावादी भएर बांच्ने अभ्यास गरौं

पैतृक चिन्तनको बाइपंखी घोंडा चढेर
जुंगाको लडाइं लड्ने यो कुरुक्षेत्रमा
समयको गांधारी पट्टी खोलेर
अचानो जस्तै बांचेका
आइमाई जिन्दगी
फेर्न मन छ
हो सांच्चै मलाई
संसारका हरेक आइमाइहरु
मान्छे भएको हेर्न मन छ

समाजले गर्दै आएका
सबै प्रश्नहरु फेर्न मन छ
सांच्चिकै भनौं भने मलाई
मेरा यी एकजोर आंखा
संसारका हरेक आइमाइहरु
मान्छे भएको हेर्न लालायित छन्
हो सांच्चै सबै आइमाइहरु
मान्छे भएको हेर्न
लालयित छन्
मेरा
एकजोर
आंखा !

धन्यवाद
नमस्कार
(८ मार्च २०२१)
१११औं अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको यहाँहरु सम्पूर्णमा मेरो हार्दिक शुभकामना!

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू